त्रिविमा भागबन्डाको लफडाले गरिएको तालाबन्दी खोल्न अदालतको आदेश
त्रिभुवन विश्वविद्यालयमा भागबन्डाको विषयलाई लिएर उत्पन्न विवादमा पाटन उच्च अदालतले ताला खोल्न अन्तरिम आदेश दिएको छ।
करिब दुई हप्ताअघि त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यलय तथा विषयगत विभागमा विद्यार्थी र प्राध्यापक संगठनहरूले तालाबन्दी गरेका थिए।
पाटन उच्च अदालतमा त्रिविका कर्मचारी महेश्वरमान श्रेष्ठले तालाबन्दी खोली पाउँ भनेर हालेको मद्दाको सुनुवाई गर्दै आइतवार उच्च अदालत पाटनले तालाबन्दी खोल्न निर्देशन दिएको छ। नेविसंघका सचिव योगेन्द्र रावलको नाममा अदालतले आदेश जारी गरेको छ।
पदाधिकारी नियुक्तिमा दलीय भागबन्डा भएको भन्दै प्रजातन्त्रवादी प्रध्यापक संघ, नेवि संघ र लोकतान्त्रिक विद्यार्थी संगठनले ताला लगाएका थिए। ४ साउनमा नेविसंघ र पाँच गते प्रध्यापक संघले त्रि.विको केन्द्रिय कार्यालयमा ताला लगाएका थिए।
भिसि डा.धर्मकान्त बास्कोटा नियुक्त भएदेखि शुरु भएको विवाद रजिष्ट्रारमा पेशल दाहाल, शिक्षाध्यक्षमा शिवलाल भुषाल नियुक्त हुँदै डिन र विभागीय प्रमुख नियुक्तिसम्म पुग्दा थप चर्किएको हो।
त्रिविले पछिल्लो समय मानविकी तथा सामाजिक विज्ञान संकायको डिनमा प्रा.डा कुसुम शाक्य, शिक्षा संकायको डिनमा प्रा.डा चित्र बहादुर बुढाथोकीललाई नियुक्त गरेको छ।
प्रजातन्त्रवादी प्रध्यापक संघले अहिलेसम्म गरिएका नियुक्ति खारेज गर्नुपर्ने, अब गरिने प्रशासनिक एवं शैक्षिक पदको नियुक्तिका लागि ज्येष्ठता र प्राज्ञिक विशिष्टताको आधारमा निश्चित एवम् पारदर्शी मापदन्ड निर्धारण गर्नुपर्ने, लामो समय विश्वविद्यालयमा प्रशासनिक एवं प्राज्ञिक पदमा नेतृत्व गरेका निवृत्त प्राध्यापकहरू सम्मिलित कार्यदल गठन गर्नुपर्ने, कार्यदल बनाउँदा सबै सरोकारवालाबाट स्वीकार्य व्यक्तिलाई चयन गर्नुपर्ने लगायतका ३३ बुँदे मागपत्र राख्दै तालाबन्दी गरेको हो।
त्रिविको शिक्षा शास्त्र केन्द्रिय विभागको विषयगत विभागमा पनि गत बुधबारदेखि तालाबन्दी भएको छ। नेपाली भाषा शिक्षण विभागमा प्रमुख उपप्रध्यापक डा. केशव भूषाललाई नियुक्त गरेपछि वरियता क्रमको सातौं स्थानमा रहेको व्यक्तिलाई विभाग प्रमुख बनाइएको भन्दै विभागमा विवाद भएको हो।
पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि अदालतको सम्मान गर्दै ताला खोल्ने र नयाँ योजनाका साथ आन्दोलन गर्ने नेविसंघका सभापति हरी आचार्यले जानकारी दिए। अहिलेसम्म अदालतको पत्र प्राप्त नभइसकेकाले तालाबन्दी नखोलिएको उनीहरूको भनाइ छ। “राज्यसत्ताको दुरुपयोग गर्दै विद्यार्थीको मागलाई निस्तेज पार्न खोजिएको छ। अब हामी थप कडा आन्दोलनमा उत्रने छौं,” उनले भने।
यस बाहेक त्रिविलाई राजनीति गर्ने थलो बनाइएको भन्दै केही प्राध्यापकहरूले पनि विरोध जनाएका छन्। “संस्था राम्रो बनाउँ, पढाई राम्रो बनाउँ भन्ने भन्दा पनि सबै भागबन्डा लगाएर दोहन गरौं भन्नेमा तल्लिन छन्,” त्रिविका एक प्राध्यापकले भने। दलीय संगठन, प्रध्यापक संघ, विश्वविद्यालयका पदाधिकारीलगायत सबैले त्रिविलाई प्राज्ञिक थलो भन्दा पनि राजनीतिक थलोको रुपमा प्रयोग गरिरहेको गुनासो उनको छ।
त्रिविका शिक्षाध्यक्ष प्रा.शिव भुषाल अहिलेको विवाद भागबन्डाकै कारण भइरहेको स्वीकार्छन्। “बाहिर जे माग राखेपनि उहाँहरूको भागबन्डामा नियुक्ति पाउनुपर्छ भन्ने माग हो,” उनले भने।
उनले भागबन्डाको परिपाटीको अन्त्यको लागि भन्दा पनि जेष्ठता र प्राज्ञिक बरिष्ठताको आधारमा नियुक्त गरेकोले विरोध गरेको दाबी गरे। तर आन्दोलनरत पक्ष भने प्राज्ञिक शुसासनको केन्द्र बनाऊँ भनेर आन्दोलन गरिरहेको बताउँदै आएका छन्।