मलेशियामा बारम्बार कुटिन्छन् नेपाली कामदार, कुट्नकै लागि कम्पनीले राख्छन् छुट्टै व्यक्ति
मलेशियामा कार्यरत एक नेपाली युवालाई सुपरभाइजरले निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यो घटनाबारे अहिले मलेशियाको प्रहरीले अनुसन्धान गरिरहेको छ।
उक्त भिडियोमा सुपरभाइजरले लाठी र मुड्कीले सुरक्षागार्डलाई कुटिरहेको र ती गार्ड केही बोल्न नसकेको देखिन्छ। क्लालम्पुरस्थित एक भवनको पार्किङ क्षेत्रमा भएको कुटपिटको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको मलेशियाका सञ्चारमाध्यमहरूले जनाएका छन्।
अहिले विभिन्न सञ्चार माध्यमबाट मलेशियास्थित नेपाली राजदूतावासलाई उद्धृत गर्दै नेपाली कामदार कुटिएको भिडिओमा कुट्ने व्यक्ति पनि नेपाली नै भएको दाबी गरिएको छ। नेपाली दूतावासले सोमबार विज्ञप्ति जारी गरेर कुटपिटको घटनामा पीडित र पीडक दुवै व्यक्ति नेपाली भएको पुष्टि भएको जनाएको छ।
विज्ञप्ति अनुसार, कुटिने व्यक्ति नवलपरासीका इस्लाम हुसेन हुन् भने कुटपिट गर्ने कपिलस्तुका रामगोपाल मुराउ हुन्। पिट्ने व्यक्तिलाई मलेशिया प्रहरीले नियन्त्रणमा लिएको दूतावासले जनाएको छ।
मलेशियाको प्रहरीले उक्त कुटपिटमा नेपाली कामदार संलग्न भएको भन्दै यसअघि नै ‘स्टेटमेन्ट’ जारी गरिसकेको छ।
यसैबीच, मलेशियाको रोजगारीबाट नेपाल फर्केका काभ्रे पनौतीका सन्तोष सापकोटाले भने भाइरल भिडिओमा कुट्ने व्यक्ति नेपाली भएको गलत सूचना फैलाइएको बताएका छन्। उनले मलेशियामा काम गर्ने क्रममा आफू पनि भाइरल भिडिओमा देखिएका व्यक्तिबाटै कुटपिटमा परेको र ती मानिस मलेशियन नै भएको बताएका छन्।
उनले हिमालखबरसँग भने, “नेपाली दूतावासले दबाबमा परेर मलेशियाका व्यक्तिलाई बचाउन नक्कली व्यक्ति खडा गरेको हो। मेरो आफ्नै भोगाइबाट कुट्ने व्यक्ति नेपाली होइनन् भन्न सक्छु।”
उनले नेपाली कामदार कुटिएको भिडिओ सार्वजनिक भएपछि आफूले पनि त्यसरी नै यातना पाएको भन्दै १८ साउनमा मलेशियास्थित नेपाली दूतावासका साथै नेपालस्थित सरकारी निकायहरूमा निवेदन दिएका छन्। निवेदनमा उनले आफ्नो भोगाइका साथै मलेशियामा अन्य नेपाली कामदारले भोग्नुपरेको अमानवीय व्यवहारका घटना पनि समेटेका छन्।
निर्घात कुटपिटले मेरुदण्डको बिरामी
सापकोटा २५ कात्तिक २०७३ मा एजेन्ट मार्फत हिमारव ओभरसिजबाट तीन वर्षको करारमा अलाइड सेक्युरिटी एसडीएन बीएचडीमा काम गर्न मलेशिया गएका थिए।
जानुअघि उनलाई कम्पनीले मासिक २१०० मलेशियन रिंगिट दिने भनेको थियो। तर, मलेशिया पुगेर काम गर्न थालेपछि १६ सय रिंगिट मात्र दिएको निवेदनमा उल्लेख गरेका छन्। त्यति पारिश्रमिकमा दैनिक १२ देखि १४ घण्टासम्म काम गर्नुपर्थ्यो।
उनलाई साप्ताहिक बिदा समेत नदिई लगातार काममा लगाइएको थियो। कामको क्रममा बिरामी परेपछि कम्पनीसँग केही दिन बिदा माग्दा नपाएको उनले मलेशियास्थित नेपाली दूतावासलाई पठाएको निवेदनमा उल्लेख गरेका छन्।
काम गर्न सक्दै नसक्ने अवस्था भएपछि उनी केही आराम गरेर काममा गए। “कम्पनीमा जाँदा मेरो सुपरभाइजर मलेशियन व्यक्ति मन्नुले काममा नआएको भनेर कुटपिट गरे”, निवेदनमा उनले लेखेका छन्।
कुटपिटबाट आफूलाई चोट लागेको र काममा नगए झन् कुटाइ खाने डरले सकिनसकी काममा गएको उनको भनाइ छ।
सन्तोष सापकोटाले मलेशियास्थित नेपाली दूतावासलाई पठाएको निवेदन ।
अनाहकमा कुटाइ खानुपरेको भन्दै उनले क्वालालम्पुरस्थित नेपाली दूतावासमा पुगेर उजुरी दिए। तर, दूतावासले समस्या समाधान गर्ने भन्दा पनि उल्टै कम्पनीलाई उजुरीबारे जानकारी दिएको सापकोटाले बताएका छन्। उनका अनुसार, दूतावासमा उजुरी दिएको थाहा पाए लगत्तै सुपरभाइजर मन्नुसहितका तीन जनाले हातहतियार समेत प्रयोग गरी निर्घात कुटपिट गरेका थिए।
“गुना सेग्रन, गणेशन र मन्नु भन्ने व्यक्ति मिलेर छुरा हानी मेरो मेरुदण्ड नै काम नलाग्ने गरी कुटपिट गरे,” उनले निवेदनमा लेखेका छन्, “उक्त कुटपिटपछि नै डर लाग्ने जस्ता मानसिक रोगको शिकार बन्नुपरेको छ।”
सापकोटा बिरामी परेपछि कम्पनीले उपचार गरिदिएन। उनी अस्पताल गएर आफ्नै खर्चमा उपचार गराए। त्यस क्रममा २६ सय मलेशियन रिगिंट खर्च भएको उनले बताएका छन्।
बिरामी परेर काम गर्न नसक्ने भएपछि कम्पनीले उनलाई करार अवधि सकिनु अगावै ३ सेप्टेम्बर २०१९ (१७ भदौ २०७६) मा नेपाल फिर्ता पठायो। पठाउने क्रममा कम्पनीले टिकट किन्न उनकै तलबबाट रकम काटेको थियो।
नेपाल फर्केपछि उनले मेरुदण्डको शल्यक्रिया गर्दा रु.२ लाख खर्च भइसकेको र अहिलेसम्म पनि उपचार गराइरहेको उनको भनाइ छ।
सन्तोष सापकोटाले धुलिखेल अस्पतालमा उपचार गराउँदाको मेडिकल रिपोर्ट ।
कुटपिटका कारण उनी अहिले पनि शारीरिक श्रम गर्न नसक्ने गरी अशक्त छन्। उनका दुई सन्तान र श्रीमती छन्।
कम्पनीबाटै कामदार बेपत्ता
सापकोटाले नेपाली दूतावासलाई पठाएको निवेदनमा मलेशियाको अलाइड सेक्युरिटी कम्पनीमा काम गर्ने अर्का नेपाली कामदार साजन श्रेष्ठलाई कम्पनीका सुपरभाइजरले कुटपिट गरेर मानसिक यातना दिएको उल्लेख गरेका छन्।
यातनापछि उनलाई गायब पारेर तीन महीनापछि कम्पनीमा काम गर्न लगाएको र अहिले फेरि बेपत्ता पारिएको उनले निवेदन मार्फत बताएका छन्।
उनले आफूलाई कुटपिट गर्नेमध्येकै गुना सेग्रनले पछिल्लो समय मलेशियामा कार्यरत अर्का एक नेपालीलाई कुटपिट गरेको भिडिओ ३१ जुलाई २०२० देखि भाइरल भइरहेको बताएका छन्।
सापकोटाले निवेदनमा मलेशियामा अझै पनि नेपाली कामदारलाई कम्पनी र कम्पनीमा कार्यरत व्यक्तिहरूले कुटपिट गरी कतिपयलाई अशक्त बनाउने गरेको र घटना लुकाउने गरिएको भन्दै यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
पछिल्लो पटक नेपाली सुरक्षागार्ड कुटिएको घटनाबारे मलेशियास्थित नेपाली दूतावासले सोमबार जारी गरेको विज्ञप्ति ।
को हुन् कुट्ने व्यक्ति ?
सापकोटाले हिमालखबरसँग कुरा गर्दै भाइरल भिडिओमा नेपाली कामदार कुट्ने व्यक्तिले आफूलाई पनि हातपात गरेको बताएका छन्। क्लाललम्पुरस्थित अलाइड सेक्युरिटी गार्ड कम्पनीका कामदार कुट्ने व्यक्ति मलेशियन तमिल भएको उनले बताए।
“कुट्ने व्यक्ति नेपाली हो भनेर अहिले विभिन्न माध्यमबाट गलत सूचना फैलाइएको छ, उनी नेपाली नागरिक होइनन्”, सापकोटा भन्छन्, “नेपाली भनेर नेपाली दूतावासले नै मलेशियन तमिललाई बचाउन खोजिरहेको छ।”
कामदारलाई कुट्नकै लागि भनेर मलेशियाका थुप्रै कम्पनीले छुट्टै व्यक्ति परिचालन गर्ने गरेका छन्। अलाइडमा कार्यरत कामदारहरूका अनुसार, त्यहाँ रहँदा कामदार कुट्ने काममा संलग्न ती व्यक्तिले अन्य कम्पनीमा काम गर्न थालेका छन्।
सापकोटाले कुटपिटमा संलग्न कम्पनी र व्यक्तिलाई मलेशियाको कानून अनुसार कारबाही गर्न निवेदन मार्फत माग गरेका छन्।
उनले मलेशियामा सेक्युरिटी गार्डमा कार्यरत नेपाली कामदारले भोगेको यातना र त्यसमा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौं नारायणहिटीस्थित कन्सुलर विभागका महानिर्देशकलाई पनि निवेदन दिएका छन्। यस्तै, उनले परराष्ट्र मन्त्रालयमा पनि निवेदन दिएका छन्।
सोमबार उनले वैदेशिक रोजगार विभाग पनि निवेदन दर्ता गर्दैछन्।
‘मलेशियामा नेपाली कामदार दास जस्तो’
मलेशियाका सेक्युरिटी कम्पनीहरूबाट कुटपिट र यातना भागेका अन्य धेरै सुरक्षा गार्ड छन्। तर, उनीहरूले आफ्नो सुरक्षाको डरले कम्पनी विरुद्ध बोल्न सकेका छैनन्।
काजंग एक्सपोम सेक्युरिटी कम्पनीमा कार्यरत एक कामदारले हिमालखबरलाई पठाएको भिडिओमा समस्या परेर घर जान बिदा माग्दा जबर्जस्ती कामबाट निकालेको बताएका छन्। उनले कम्पनीका मालिकले कुटपिट गरेर बलजफ्ती होस्टलबाट निकालेको बताएका छन्। दुई महीनाको तलब नदिएको र राहदानी समेत मालिकले नै राखेको उनको गुनासो छ।
कम्पनीबाट निकालिएपछि उनले क्वालालम्पुरस्थित नेपाली दूतावासमा निवेदन दिए। दूतावासले उक्त घटनाबारे कम्पनीलाई सूचना दियो र उनको समस्या समाधान गर्ने प्रतिबद्धता जनायो। तर, दूतावासमा निवेदन दिएको १५ दिन भइसके पनि गुनासो सम्बोधन नहुँदा आफ्नो कन्तबिजोग भएको उनी बताउँछन्।
एक जना साथीसँग शरण लिएर बसिरहेका उनी भन्छन्, “नेपाल फर्कनुपर्नेछ, तर मसँग पैसा र पासपोर्ट छैन। यहाँ बसुन्जेल खानको लागि पनि समस्या छ।”
आप्रवासी कामदारका अधिकारकर्मी एन्डी हलका अनुसार, मलेशियामा नेपाली कामदारले दास सरह चरम यातना भोगेर काम गरिरहनुपरेको छ। हिमालखबरसँग कुरा गर्दै उनले नेपाली कामदारले चरम यातनाका बीच काम गरिहे पनि मलेशियाका नियामक निकाय र त्यहाँस्थित नेपाली दूतावास मूकदर्शक बन्दै आएको बताए।
वैदेशिक रोजगारीमा समस्यामा परेका कामदारलाई निःशुल्क कानूनी सहायता दिंदै आएको संस्था पिपल्स फोरमका सल्लाहकार तथा अधिवक्ता सोम लुइँटेल नेपाली कामदार कुटपिट सम्बन्धी घटनामा मलेशियाका सरकारी निकाय मार्फत कानूनी उपचार खोज्न नेपालले पहलकदमी गर्नुपर्ने बताउँछन्।
“कामदारमाथि भएको कुटपिट अन्तर्राष्ट्रिय कानून र मलेशियाको कानून विपरीत छ”, लुइँटेल भन्छन्, “यी घटनामा संलग्नलाई नेपालको परराष्ट्र मन्त्रालय र मलेशियास्थित नेपाली दूतावासकोे कूटनीतिक पहलकदमीमा मलेशियाको सरकारले कारबाही गर्नुपर्छ।”
मलेशियाको सेक्युरिटी सम्बन्धी कानूनले कामदारलाई यातना दिन नपाइने भनेको छ। यस्तै, ‘ग्लोबल कम्प्याक्ट अन माइग्रेसन, २०१८’ ले कामदारमाथि हुने अमानवीय कार्यलाई वर्जित गरेको छ।