मन्त्रिपरिषद बैठक बस्दै, लगानी बोर्डको सीईओ नियुक्त गर्ने
मन्त्रिपरिषदको बैठक आज साँझ पाँच बजे बस्दैछ। बैठकले अघिल्लो बैठकमै प्रस्ताव लगिएको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने आंकलन गरिएको छ।
लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वको समितिले सुशील भट्ट, डा. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रिपरिषदमा पठाएको छ।
मन्त्रिपरिषदको बैठकले यी तीन मध्ये एकलाई लगानी बोर्डको आगामी ४ वर्षे कार्यकालका सीईओ नियुक्ति गर्नेछ। भट्ट राष्ट्रिय योजना आयोगका सदस्य हुन् भने डा. कोइराला विदेशी लगानी सम्बन्धी जानकार हुन्।
खतिवडा विद्युत नियमन आयोगका पूर्व सदस्य हुन्। लगानी बोर्डमा भट्टलाई सीईओका रुपमा ल्याइने प्रबल सम्भावना रहेको अनुमान गरिएको छ। उनको प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिकको हिमचिम भएको चर्चा चल्ने गरेको छ। भट्टको व्यवसायिक पृष्ठभूमिका कारण उनको छवि विवादास्पद छ।