ओलीको प्रस्ताव– सचिवालयबाट सहमति खाेजाैं, दाहालले भनेः स्थायी कमिटी राखौं
बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साक्षी राखेर बसेको नेकपा अध्यक्षद्वयको छलफल सकिएको छ। दुई अध्यक्ष बीच दुई घण्टा बढी छलफल भएको छ।
तर, दुवै पक्षले आ–आफ्नो अडान भने छाडेनन्। प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले सहमति जुटाउन सचिवालय बोलाउनुपर्ने बताए। “१३ साउनसम्म नआइपुगाै, ३ साउनकै अवस्थामा फर्कौ”, प्रम ओलीको भनाइ उदृत गर्दै बालुवाटार स्रोतले भन्यो। स्थायी कमिटी बैठक अगाडि सचिवालयमा सहमति जुटाउनुपर्ने प्रम ओलीको प्रस्ताव थियो।
तर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले भने सचिवालय नभएर स्थायी कमिटीबाटै निकास खोज्नुपर्ने बताएका थिए। प्रधानमन्त्री ओलीले एक्लौटी निर्णयका आधारमा अनिश्चितकालका लागि स्थगित गरेपछि बसेको बहुमत सदस्यहरुको बैठकलाई आधार मानेर अगाडि बढ्नुपर्ने दाहालको प्रस्ताव थियो।
प्रम ओली भने आफूले स्थगित गरेपछि बसेको बैठकलाई स्थायी कमिटी मान्न तयार भएनन्। दाहालले भने पूर्वनिर्धारित भएको र बहुमत सदस्य बसेकाले १३ साउनको बैठकलाई स्थायी कमिटी बैठकको मान्यता दिनुपर्ने बताएका थिए। आइतबार देखि दुई अध्यक्ष बीच शुरु भएको छलफललाई निरन्तरता दिन भने दुवै नेता सहमत भएका छन्।
अर्को छलफल भोलि (मंगलबार) साँझ ५ बजे बस्ने भएको छ। गएको १० असार देखि शुरु भएको स्थायी कमिटी बैठककै बीचमा नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि बैठक अवरुद्ध हुँदै आएको छ भने केही दिन दुई अध्यक्ष बीच सम्वाद समेत भएको थिएन। तर, आइतबार देखि भने छलफल शुरु भएको छ।
प्रम ओली भने ३ साउनको सचिवालय बैठकमा आफूले राखेको महाधिवेशनको प्रस्तावलाई अगाडि बढाउने तयारीमा देखिन्छन्। उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापाको यूटर्न पछि आफ्नो पक्षमा प्रष्ट बहुमत जुटेकाले पनि प्रम ओली सचिवालयको पक्षमा देखिएका छन्। तर, दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल समूह भने सचिवालय नभएर जारी स्थायी कमिटी बैठकबाटै सहमति खोज्नुपर्ने पक्षमा देखिएका छन्।