आकाशेपानी संकलन गरे मज्जाले टर्छ पानीको दुःख
काठमाडौं उपत्यकामा पानी अभावको विकराल समस्या आकाशेपानी संकलन र पुनर्भरणले समाधान गर्न सकिने वास्तविकतालाई धेरैले सम्भव बनाइरहेका छन्।
काठमाडौं स्वयम्भूमा ‘ड्राइ क्लिनर’ संचालन गर्दै आएका अशोक मजगैयाँलाई दैनिक दुई हजार लिटर पानी आवश्यक पर्छ। उनले हरेक महीना एक ट्याङ्कर पानी किन्नुपथ्र्यो। तर, आकाशेपानी संकलन गरेर प्रयोग गर्न थालेपछि एक दशकयता उनले पानी किन्नुपरेको छैन।
मजगैयाँले घरमा सिमेन्टका ३० वटा रिङ राखेर इनार बनाएका छन्। पानी पर्दा छतबाट इनारमा जम्मा हुने व्यवस्था मिलाएका छन्। त्यो पानी उनले कपडा धुने व्यावसायिक कामदेखि पिउनेसम्ममा उपयोग गर्दै आएका छन्। उनी भन्छन्, “खानेपानीका लागि प्यूरिफायर मेशिन जडान गरेको छु।”
ललितपुर मानभवनकी डा. सुनिता मलेकुले पनि आकाशेपानी संकलन गरेर प्रयोग गरिरहेकी छिन्। सरकारी धारा नजोडेकी उनले वर्षायाममा गरेको जोहोले हिउँदमा समेत पानीको दुःख नहुने अनुभव सुनाइन्।
गएको वर्ष मात्रै नयाँ घरमा सरेपछि आकाशेपानी संकलनका लागि उपकरण जडान गरेको उनले बताइन्। “पानी जम्मा गर्न इनार र सिमेन्टको ट्याङ्की बनाएका छौं, फिल्टर भएर जम्मा हुन्छ। त्यही पानी पुनः फिल्टर गरेर खाने गरेका छौं”, उनले भनिन्।
काठमाडौं उपत्यकामा पानीको अभावले धेरैलाई पिरोल्ने गरेको छ। तीव्र शहरीकरण र ठूला भौतिक संरचनाका कारण भूमिगत पानीको सतह कम हुँदा समस्या थप गहिरिंदो छ। यो अवस्थामा दैनिक जीवनमा नभई नहुने पानीको आपूर्तिका लागि आकाशेपानी संकलनबाट धेरैले लाभ लिइरहेका छन्।
उपत्यकामा आकाशेपानी संकलन गर्नेहरूको संख्या बर्सेनि बढिरहेको यस क्षेत्रका जानकारहरू बताउँछन्। यसले पानीको गर्जो टार्न यो विकल्प प्रभावकारी भइरहेको देखाउँछ।
आकाशेपानी सम्बन्धी तालिम दिने र समुदायमा आकाशेपानी रिचार्ज (पुनर्भरण) को काममा लगानी गर्दै आएको गैरसरकारी संस्था गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यका अनुसार, आकाशेपानी संकलनको प्रणाली राख्नेहरूको संख्या उपत्यकामा वार्षिक १५ प्रतिशतले बढिरहेको छ।
व्यवस्थित रूपमा आकाशेपानी संकलन र रिचार्ज (पुनर्भरण) गर्ने हो भने घरायसी प्रयोजनका लागि वर्ष दिन पुर्याउन सकिन्छ। डल्लु आवास क्षेत्रमा बसोबास गरिरहेका उनी आफूले पनि आकाशेपानी संकलन गरेर उपयोग गर्दै आएका छन्।
उक्त क्षेत्रमा बस्न थालेको एक दशक भएको र आकाशेपानी संकलन गरेका कारण काठमाडौं उपत्यका खानेपानी लिमिटेडको धाराबाट पानी नआए पनि कुनै समस्या नपरेको उनले बताए। “मैले वर्षायाममा कौसीमा जम्मा हुने पानी इनारमा रिचार्ज गर्ने गरेको छु । त्यसैबाट वर्ष दिनको आवश्यकता पूरा हुन्छ”, उनले भने।
पानीको जोहो र पुनर्भरण
विज्ञहरूको भनाइमा शहरी क्षेत्रमा सडक, घर, ठूला मल लगायत कंक्रिटका संरचना निर्माणका कारण जमीनले पानी सोस्न नपाउँदा भूमिगत पानीको सतह घट्दो छ। यो समस्या निराकरण गर्न आकाशेपानी संकलन र पुनर्भरणको विकल्प नरहेको उनीहरू सुझाउँछन्।
जलस्रोतविद् मधुकर उपाध्या आकाशेपानी संकलन गरी पुनर्भरण तथा प्रयोग गर्ने अहिले भइरहेका प्रयास सकारात्मक भए पनि पर्याप्त नभएको बताउँछन्। भूमिगत पानी सुक्दै गएको वेला भइरहेका काम राम्रो भएको तर क्षति धेरै भइसकेकोले जमीन पुनर्भरणको मात्रा बढाउनुपर्ने उनको सुझाव छ। “हरेक आवासीय घर तथा व्यावसायिक भवनहरूले आकाशेपानी संकलन गरेर जताततैबाट भूमि रिचार्ज गर्नुपर्छ”, उपाध्या भन्छन्, “यो अभियान व्यापक बनाउन सके हिउँदमा हुने पानीको संकटबाट जोगिने त छँदैछ, भूमिगत पानीको सतह पनि सुधार गर्न सकिन्छ।”
गुठी संस्थाका प्राविधिक सल्लाहकार अमात्यका अनुसार, उपत्यकाभित्रका पुराना घर तथा भवनहरूमा ठाउँ अभावका कारण इच्छा भए पनि पानी संकलन गरेर संचित गर्न सकिने अवस्था छैन। हुन पनि तीव्र शहरीकरण भएको उपत्यकामा स–सानो घडेरीमा घर बनाउने क्रमले पानी पुनर्भरणको लागि ठाउँ पर्याप्त हुँदैन।
स्थानीय तहले आकाशेपानी संकलन र पुनर्भरणलाई प्रोत्साहन गर्न सके नयाँ भवन निर्माणमा यसलाई शतप्रतिशत लागू गर्न सकिने अमात्य बताउँछन्। सानो क्षेत्रफलमा पनि आकाशेपानी जम्मा गर्न सकिने उनको भनाइ छ।
“२.५ आना क्षेत्रफल भएको छानाबाट वार्षिक रूपमा एक लाख २४ हजार लिटर पानी जम्मा गर्न सकिन्छ”, अमात्य भन्छन्, “उपत्यकाको सम्पूर्ण घरमा आकाशेपानी संकलन गर्ने हो भने वार्षिक डेढ अर्ब लिटरभन्दा बढी पानी जम्मा हुन्छ।”
अमात्यका अनुसार, उपत्यकामा कलेज, विद्यालय, व्यक्तिगत घर गरेर करीब ६०० ले आकाशेपानी संकलन गरेर प्रयोग गरिरहेका छन्।
संस्थागत अग्रसरता
उपत्यकाका कतिपय कलेज र विद्यालयहरूले वर्षौंदेखि आकाशेपानी संकलन गरेरै प्रयोग गर्दै आएका छन्।
भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वपः कलेज अफ इञ्जिनियरिङ र ख्वपः इञ्जिनियरिङ कलेज एउटै परिसरमा छन्। यी दुवै कलेजमा नौ वर्षदेखि आकाशेपानी संकलन गरेर प्रयोग भइरहेको ख्वपः इञ्जिनियरिङ कलेजका प्रिन्सिपल सुजन माकाले बताए। यी कलेजहरूले पिउनका लागि मात्रै बोरिङको पानी प्रयोग गरिरहेका छन्।
“वर्षाद्मा दुई वटा भवनको कौशीबाट पानी संकलन भएर साढे पाँच लाख लिटरको ट्याङ्कीमा जान्छ, त्यो भरिएर जमीन रिचार्जका लागि बनाइएका दुई वटा इनारमा समेत जम्मा हुन्छ”, उनले भने।
दुई वर्ष अघिसम्म नजिकका केही विद्यालय र होस्टललाई समेत पानी वितरण गरेको तर कलेजमा विद्यार्थीको संख्या बढेपछि आफूले मात्रै प्रयोग गरिरहेको प्रिन्सिपल माकाले बताए।
संकलित पानी सरसफाइ र शौचालयका दैनिक २२ हजार लिटर प्रयोग हुन्छ। दुवै कलेजका विद्यार्थी, शिक्षक र कर्मचारी गरी करीब २ हजारलाई पानी पर्याप्त हुने प्रिन्सिपल माकाले बताए।
अहिलेसम्म पानी किन्नु नपरेको बताउँदै उनले भने, “विद्यार्थीको संख्या बढ्दो छ, यसैले साढे पाँच लाख लिटरको अर्को ट्याङ्की निर्माण गर्ने तयारी गरिरहेका छौं।” भक्तपुर नगरपालिकाले पनि आकाशेपानी संकलनका लागि एक लाख २५ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेर अन्तिम चरणमा पुर्याएको छ। त्यति नै क्षमता बराबरका थप दुई वटा ट्याङ्की निर्माण गर्ने तयारी भइरहेकोे उममेयर रजनी जोशीले बताइन्।
उनले भनिन्, “त्यहाँ जम्मा भएको आकाशेपानी नगरपालिकाको दैनिक प्रयोजनका लागि प्रयोग हुनेछ, यसका साथै आगलागी जस्तो आपतकालीन अवस्थामा पनि प्रयोग गर्नेछौं।”
नगरपालिकाले समुदाय स्तरमा आकाशेपानी संकलनको प्रणाली जडान गर्न प्राविधिक सहयोग गर्ने तयारी गरिरहेको पनि उपमेयर जोशीले बताइन्। उनका अनुसार, नगरभित्र अब बन्ने ठूला भवन, कलेज र अस्पतालहरूमा पनि आकाशेपानी संकलनको प्रणाली राख्नुपर्ने कार्यविधि बनाउन लागेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालयले दश वर्षदेखि आकाशेपानी संकलन गरेर प्रयोग गरिरहेको छ। विद्यालयले ६ वटा भवनमध्ये चार वटा भवनको छतको पानी संकलन गरिरहेको छ। यसबाट करीब ३५ सय विद्यार्थी र १२५ जना शिक्षक तथा कर्मचारीलाई प्रयोग गर्न पुगिरहेको संस्थापक प्रिन्सिपल हेरम्बराज कँडेलले बताए।
“गैरसरकारी संस्था गुठीको सहयोगमा ५० हजार लिटरको भूमिगत ट्याङ्की निर्माण गरेका छौं”, कँडेलले भने, “वर्षामा ट्याङ्की भरिएर पनि रिचार्ज ट्याङ्कीमा पठाउँछौं।” अहिलेसम्म आफूहरुले खानेपानी बाहेक दैनिक प्रयोगका लागि पानी किन्नु नपरेको उनले बताए।
‘रिचार्ज काठमाडौं’
काठमाडौं महानगरपालिकाले आकाशेपानी संकलन गरेर जमीनमा पुनर्भरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम मार्फत ‘रिचार्ज काठमाडौं’ अभियान शुरू गरेको छ। यस अन्तर्गत वडा नम्बर १५ र २६ मा आकाशेपानी पुनर्भरण शुरू भएको महानगरले जनाएको छ।
महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले महानगरमा खानेपानीको अभाव न्यूनीकरण गर्न यो अभियान शुरू गरेको बताए । अभियान अन्तर्गत नगरवासीलाई वर्षाद्को पानी छतबाट ढलमा नफाली इनार बनाई जम्मा गर्न प्रोत्साहित गरिन्छ। जसले एकातिर भूमिगत पानीको सतह बढ्छ, अर्कातिर सुक्खायाममा पानीको समस्या पर्दैन।
“रिचार्ज काठमाडौं अभियानले सुक्दै गएका इनारहरूलाई पहिलाकै जसरी पानी आउने बनाउन सहयोग पुग्छ”, प्रवक्ता डंगोल भन्छन्, “अब महानगरका हरेक घरमा आकाशेपानी रिचार्ज संयन्त्र बनाउने योजना बनाएका छौं।” जसको शुरुआत वडा नम्बर १५ र २६ मा भइसकेको छ।” उनका अनुसार, यी दुई वडामा यो वर्ष छतको पानी ढलमा मिसाइएको छैन।