७७ मध्ये १५ जिल्लामा पूर्ण विद्युतीकरण
७७ मध्ये १५ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ। गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै ११ जिल्लालाई पूर्ण विद्युतीकरण गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
पर्वत, स्याङजा, काठमाडौं र भक्तपुरमा मात्र पूर्ण विद्युतीकरण भएकोमा गत वर्ष धनकुटा, सुनसरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, नुवाकोट, कपिलवस्तु, गुल्मी र वर्दियालाई पनि पूर्ण विद्युतीकरण गरिएको हो। प्राधिकरणले गत आवमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य राखेको थियो। तर, कोभिड–१९ का कारण लक्ष्यअनुसार काम हुन नसकेको प्राधिकरणले जनाएको छ ।
सरकारले २०७९ भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्याउने र वार्षिक प्रतिव्यक्ति विद्युत खपतलाई ७०० युनिट पुर्याउने लक्ष्य राखेको छ। गत आवमा निजी क्षेत्रका १५ आयोजना निर्माण सम्पन्न भई १ सय ३५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ।
प्राधिकरणले गत आर्थिक वर्ष २०७६/०७७ मा ८१.२३ प्रतिशत वित्तीय प्रगति र ८२.२९ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ।
गत आर्थिक वर्षका लागि रु. ५८ अर्ब ४ करोड विनियोजन गरिएकोमा रु. ४७ अर्ब १४ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ। विश्वव्यापी महामारी कोभिड–१९ का कारण निर्माणाधीन आयोजनाको काम प्रभावित हुँदा समेत समग्र वित्तीय र भौतिक प्रगति उत्साहजनक रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। उनले वन क्षेत्रको जग्गा प्रयोगमा रहेको प्रक्रियागत झन्झट, जग्गा अधिग्रहणको समस्या, प्रसारण तथा वितरण लाइनमा भइरहेको अवरोध लगायत कोभिड १९ का कारण गत आर्थिक वर्षको अन्तिम ४ महिना काम हुन नसक्दा लक्ष्यअनुसार काम हुन भने नसकेको बताए।
प्रसारण लाइनतर्फ २६ अर्ब ४८ करोड विनियोजन गरिएकोमा १९ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको छ। प्रसारण लाइनतर्फ ६ आयोजनाबाट २ सय ८५ सर्किट किलोमिटर प्रसारण लाइन थपिएको छ। प्राधिकरणले कोसी, सोलु, कालीण्डकी, मस्र्याङदी करिडोर, सिंगटी लामोसाँघु, चिलिमे–त्रिसूली ३ बी हब, हेटौडा–ढल्कबर–इनरुवा,मस्र्याङदी–काठमाडौं,तामाकोसी–काठमाडौं लगायतका आयोजनाहरु निर्माण गरिरहेको छ।
त्यस्तै, प्राधिकरणको सहायक कम्पनीमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोसी र १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना निर्माणाधीन छन्। माथिल्लो तामाकोसीको निर्माण यस वर्ष सक्ने लक्ष्य राखिएको छ। प्राधिकरणले १०६१ मेगावाटको माथिल्लो अरुण, ६३५ मेगावाटको दूधकोसी, माथिल्लो मोदी ए, तामाकोसी पाँचौ जलविद्युत्लगायतका आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ। अध्ययनका लागि १ अर्ब ९५ करोड विनियोजन गरिएकोमा २६.४८ प्रतिशत मात्रै खर्च भएको छ।
प्राधिकरणले गत आवमा सबस्टेसनमा ८४०.४० एमभीए क्षमता थपेको छ। १३८.६ एमभीएका ४ वटा नयाँ सबस्टेसन संचालनमा आएका छन् भने ३७ वटा प्रसारणतर्फका सबस्टेसनको स्तरोन्नति गरिएको छ। जसको क्षमता ५७९.८० एमभीए छ।
यसैगरी वितरणतर्फका २४ सबस्टेसनको निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ। ती सबस्टेसनको क्षमता १५२ एमभीए छ। गत आवमा विद्युत् वितरणतर्फ २५० किलोमिटर ३३ केभी लाइन विस्तार गर्ने लक्ष्य राखिएकोमा ४०५ किलोमिटर निर्माण गरिएको छ।