नेपाली क्रिकेट टोलीले पहिलो ओडीआई जितेको ऐतिहासिक दिन, आईसीसीले पनि सम्झियो
एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) को मान्यता पाएको साढे चार महीनापछि खेलेको पहिलो श्रृङ्खलाको पहिलो खेलमै हारे पनि दोस्रो खेलमा नेपालले १ रनको ऐतिहासिक जित निकालेको थियो।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले १५ मार्च २०१८ (१ चैत २०७४) मा ओडीआई मान्यता दिएको थियो। त्यसको साढे चार महीनापछि मात्र नेपालले १ अगष्ट २०१८ मा पहिलो ओडीआई खेल्ने मौका पाएको थियो।
दुई वटा ओडीआईको श्रृङ्खला खेल्न नेदरल्याण्ड पुगेको नेपाल पहिलो खेलमा ५५ रनले पराजित भएको थियो। घरेलु टीमविरुद्ध १९० रनको सामान्य लक्ष पनि नेपालले पछ्याउन सकेको थिएन।
दोस्रो ओडीआई भने नेपालले १ रनले जितेर पहिलो पटक विजयको स्वाद चाख्यो। अन्तिम ओभरमा नेदरल्याण्डलाई जितका लागि मात्र ६ रन आवश्यक थियो। अन्तिम ओभर आफैँ बलिङ गर्दै कप्तान पारस खड्काले ४ रन दिएर एक विकेट लिएपछि नेपाल १ रनले विजयी भयो।
यो अहिलेसम्मको नेपालको रनका हिसाबले सबैभन्दा साँघुरो जित हो। नेपालले ओडीआईमा पहिलो जित पाएको दिनको सम्झना गर्दै आईसीसीले ट्विट गरेको छ। आईसीसीले पारस खड्का र पारस तथा सोमपाल कामीले खुसी मनाएको दुई वटा तस्वीर पनि राखेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले पनि फेसबुक पेज र ट्विटरमार्फत उक्त ऐतिहासिक दिनको सम्झना गरेको छ। त्यसैगरी नेपाली क्रिकेट टोलीका भिडियो विश्लेषक रमन सिवाकोटीले पनि विजय भएपछि खिचेको फोटो ट्विट गरेका छन्। उक्त खेलमा नेपाल पहिलो पटक ओडीआईमा विजयी हुनुबाहेक अन्य रेकर्ड पनि बनेका थिए।
नेपालले पहिलोपटक टस जितेको थियो र ब्याटिङ रोजेको थियो। ओडीआईमा पहिलो पटक नै २०० रन पार गरेको थियो। यो जितसँगै पहिलो श्रृङ्खला गुमाउनबाट पनि जोगिएको थियो।
त्यस्तै एउटै ओडीआईमा पहिलोपटक दुई जना ब्याट्सम्यानले अर्धशतक प्रहार गरेका थिए। सोमपाल कामीले ४६ बलमा ६१ रन र कप्तान पारस खड्काले ६९ बलमा ५१ रन बनाएका थिए।
उक्त खेलमा सुवास खकुरेल, रोहित पौडेल र ललित भण्डारीले डेब्यु गरेका थिए। सन्दीप लामिछानेले ३ र ललितले दुई विकेट लिएका थिए। २१७ रनको लक्ष पछ्याएको नेदरल्याण्ड २१५ रनमा समेटिएको थियो। नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो।
उक्त खेलमा नेपालका तर्फबाट सातौँ र नवौँ विकेटका लागि भएको साझेदारीको कीर्तिमान अझै कायम छ। सातौ विकेटका लागि आरिफ शेख र सोमपाल कामीले २३ रनको साझेदारी गरेका थिए। त्यस्तै नवौँ विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेबीच ४१ रनको साझेदारी भएको थियो।
नेपालविरुद्ध उक्त खेलमा नेदरल्याण्डले बनाएको दशौँ विकेटको साझेदारी पनि अहिलेसम्मकै ठूलो हो। नेदरल्याण्डका अन्तिम क्रमका ब्याट्यासम्यानले नेपालविरुद्ध ३० रन बनाएका थिए।
नेपालले अहिलेसम्म १० वटा ओडीआई खेलिसकेको छ। जसमध्ये पाँचमा जित र पाँचमा हार बेहोरेको छ।