धादिङबासीलाई तीन वर्षदेखि पानीको हाहाकार
पानीका मुहान सुकेपछि धादिङ जिल्लाका बेनिघाट रोराङ, त्रिपुरा सुन्दरी, गजुरी र धुनिबेसीका स्थानीयले तीन वर्षदेखि सिंचाइ र पिउने पानीको समस्या झेल्दै आएका छन् ।
ग्रामीण क्षेत्र बेनिघाट, रोराङ गाउँपालिकाको–२ को भैराङ, त्रिपुरा सुन्दरी गाउँपालिका, गजुरी गाउँपालिका–५ को राई गाउँ, वडा नं–६ को स्यामैडाँडा र धुनिबेसी नगरपालिका–३ मा तीन वर्षदेखि सिंचाइ र पिउने पानीको अभाव भएको हाे ।
२०७२ सालको भूकम्पपछि मुहान सुकेपनि कहीँकतैबाट बैकल्पिक व्यवस्था नहुँदा पिउन, सिंचाइ गर्न र पुनर्निर्माणका लागि पानी अभाव भएको स्थानीयहरू बताउँछन् ।
नसुकेका केही खोला तथा मुहानमा भएको पानी क्रसर उद्योग तथा खानीमा प्रयोग गर्न थालेपछि स्थानीयले थप सास्ती बेहोर्नुपरेको छ ।
पानी अभावको समस्या धादिङका अधिकांश पालिकामा ब्याप्त छ । केही पालिकाले भने चर्को जन दबाबपछि सहज पानी आपूर्ति गर्ने काम शुरु गरेका छन् । तर अधिकांश ठाउँमा पानी उपलब्ध गराउन स्थानीय सरकार असक्षम भएका छन् ।
गल्छी गाउँपालिका–६ को महेश खोलामा पहिलेको तुलनामा पानी आउने क्रम घटेको छ । यसको प्रमुख कारण भूकम्प हो ।
करिब घुँडासम्म गहिरो बग्ने गल्छी गाउँपालिका–६ को जुरी खोलाको पानी भुइँचालोपछि सुक्यो ।
अहिले स्थानीयहरू राँगो डाँडाको मुहानबाट ल्याएको पानी पिउनका लागि प्रयोग गर्छन् । खोला सुकेर बनेको कुलो नै त्यहाँका स्थानीयको खाने पानीको प्रमुख स्रोत हो ।
स्थानीयहरूले अहिले पानीका मुहान भएको राँगो खोलाबाट ११ वटा खानेपानीका पाइप घुसाएर पानी निकाल्ने गरेका छन् । त्यहाँको पानी नजिकैको महेश खानीमा समेत लैजाने गरिएको छ ।
महेश फाँटका स्थानीय छविलाल अधिकारी (७२) भन्छन्, “पानी अभावले खेतमा बाली नलगाउँला । तर, पिउने पानी त चाहियो ।”
पहिले बाहुनपला भन्ने ठाउँमा बस्दै आएका छविलालको परिवार बेसी झरेर सबै कुरामा सहज होला भन्ने आशामा थिए ।
तर, मुहान सुकेपछि पिउन र सिंचाइ गर्नका लागि पानीको अभाव बेहोर्नुपरेको छ । उनी गाउँपालिकाले मूल खोजेमा पाइप उपलब्ध गराइदिने प्रतिबद्धता मात्र जनाएको बताउँछन् ।
छविलाल भन्छन्, “हामी मूल खोज्न कहाँ जाने ?”
१८ घरधुरीको बसोबास रहेको त्यस क्षेत्रका स्थानीयहरू खेतीका लागि आकाशे पानीको भर पर्नुपरेको छ ।
यस्तै, धादिङको बेनिघाट रोराङ गाउँपालिकाको–२ भैराङको चेपाङ बस्ती पनि खानेपानीको अभावको समस्याले नराम्ररी प्रभावित बनेको छ । स्थानीय अर्जुन चेपाङ (२१) भूकम्पपछि राईको मुहानमा पानी सुकेको बताउँछन् ।
४० घरधुरी रहेको सिमथलीका स्थानीयले कुवाँको पानी प्रयोग गर्ने गरेका छन् । तर पर्याप्त छैन ।
सन् २०१६ को नोभेम्बरमा प्रकाशित युके एड, प्लान इन्टरनेशनल, अक्सफार्म लगायत विभिन्न गैरसरकारी संस्थाद्वारा गरिएको एक अध्ययनले धादिङमा भूकम्पपछि पानीका स्रोतहरू सुकेर अभाव भएको देखाएको थियो ।
मुहान सुकेका कारण पानीको अभावले भूकम्पले भत्काएका घर पुनर्निर्माण गर्न समेत नपाएको अध्ययनले देखाएको थियो ।
अध्ययनले घर बनाउने क्रममा माटो वा सिमेन्ट मुछ्न चाहिने पानी अभाव भएको देखाएको हो ।
अध्ययनका अनुसार कतिपय समुदायका स्थानीयहरू घर पुनर्निर्माण गर्नेभन्दा पनि पानी अभावको विषयलाई लिएर बढी चिन्तित छन् ।