आईपीएलमा बेलायत र अष्ट्रेलियाका खेलाडीलाई एक साता बिदा
इन्डियन प्रिमियर लिग (आईपीएल) ले बेलायत र अष्ट्रेलियाका खेलाडीलाई पहिलो एक साता बिदा दिएको छ। बेलायत र अष्ट्रेलियाबीच एकदिवसीय श्रृङ्खला आईपीएल शुरु हुँदासम्म नसकिने कारण उनीहरुलाई बिदा दिइएको हो।
आइतबार बसेको आईपीएल आयोजकको बैठकले १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म लिग सञ्चालन गर्ने निर्णय गरेको छ। बेलायत र अष्ट्रेलियाबीचको अन्तिम एकदिवसीय खेल म्यानचेस्टरमा १६ सेप्टेम्बरमा छ।
दुवै देशका १६ खेलाडी १७ सेप्टेम्बरमा मात्र लण्डनबाट दुबईका लागि प्रस्तान गर्नेछन्। दुबईमा आसोलेसनमा बसेपछि उनीहरुको कोरोनाभाइरस परीक्षण हुनेछ। जाँच नेगेटिभ आयो भने मात्र उनीहरु बाहिर निस्कने पाउनेछन्। आईपीएलमा अष्ट्रेलियाका १७ तथा बेलायतका १३ खेलाडी छन्।
यो निर्णयले नेपाली खेलाडी सन्दीप लामिछानेलाई पनि फाइदा पुग्न सक्छ। उनी क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न ट्रिनिडाड एण्ड टोबागो गएका छन्। सीपीएलको फाइनल १० सेप्टेम्बरमा छ। सन्दीप सम्मिलित टोली जमैका तालावाहको लिगचरणको अन्तिम खेल ६ सेप्टेम्बरमा छ।
यसअघि आईपीएल आयोजकले सबै टीमलाई २० अगष्टभित्र दुबई पुगिसक्न निर्देशन दिएको थियो। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले गत मे महीनामा जारी गरेको गाइडलाइन अनुसार कुनै पनि श्रृङ्खला अगाडि खेलाडी अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्नेछ।
यो नियमलाई आईपीएल आयोजकले बेलायत र अष्ट्रेलियाका लागि खुकुलो बनाएका छन्। तर, बेलायतमा हुने श्रृङ्खलापछि उनीहरु घर जान वा घुम्न निस्कन पाउने छैनन्।