बुटवल उपमहानगरको सार्वजनिक जग्गा अतिक्रमणमा मेयरकै हात !
बुटवल उपमहानगरपालिका वडा नम्बर १२ को सार्वजनिक जग्गा अतिक्रमण गरी बिक्री गर्ने काममा शिवराज नगरपालिका कपिलवस्तुका प्रमुख नेत्रप्रसाद अधिकारीको पनि संलग्नता रहेको खुलेको छ।
बुटवल उपमहानगरपालिकाले वडा नम्बर १२ भैरहवा टोलस्थित सार्वजनिक जग्गामा ट्रान्सपोर्ट भिलेज बनाउने प्रक्रिया अघि बढाएपछि उक्त स्थानमा जग्गा किनेका जग्गाधनीहरूले दाबी गर्दै नगरपालिकामा निवेदन दिएपछि नगरप्रमुख अधिकारी समेत मुछिएका छन्।
नगरप्रमुख अधिकारी र बुटवल नयाँ गाउँका बालकृष्ण गैरेले सोही ठाउँमा रहेको कित्ता नम्बर ६०९ को ११ कठ्ठा तीन धुर, कित्ता नम्बर १८० को २ कठ्ठा, छ धुर, कित्ता नम्बर १८१ को २ कठ्ठा ५ धुर गरी १५ कठ्ठा १४ धुर र कित्ता नम्बर ६११ को २ विघा ३ कठ्ठा १७ धुर जग्गा पाँच करोडमा ३० पुस २०७२ मा बुटवल तामनगरका दिनेश भुसाल र बुटवल पुल्चोकका घनश्याम घिमिरेलाई बिक्री गरेका थिए।
नापी कार्यालयको फाइल नक्सा अनुसार गैरे र अधिकारीले कित्ता नम्बर १७७ को जग्गालाई जिल्ला नापी कार्यालय र जिल्ला मालपोत कार्यालयबाट ६०९ र ६११ बनाएका थिए। त्यसमध्ये कित्ता नम्बर १७७ बाट ६०९ मा रुपान्तरण गरिएको ११ कठ्ठा तीन धुर जग्गा व्यक्तिका नाममा दर्ता गराइएको थियो।
अधिकारी, गैरे, भुसाल र घिमिरेबीच भएको जग्गा किनबेचको करारनामा कागजमा कित्ता नम्बर ६११ लाई ऐलानी जग्गाको रुपमा स्वीकार गरेर विक्रि वितरण गरिएको थियो।
२०७३ सालको वैशाख मसान्तको म्याद राखेर घिमिरेले सिद्धार्थ विकास ब्यांकको चेकमार्फत ६० लाख र भुसालले सेवा विकास ब्यांकको चेकमार्फत रु ४० लाख बयाना बुझाएका थिए।
उक्त करारनामा पत्रमा ऐलानी जग्गाको भोगचलनमा कसैले वाधा अवरोध गराए त्यसलाई हटाइदिने र दर्ता खुलेका बखत दर्ताका लागि पहल गरिदिने प्रतिवद्धता अधिकारी र गैरेले गरेका छन्।
बुटवल उपमहानगरपालिकाले कित्ता नम्वर ६११ को जग्गामा अटोभिलेज बनाउनका लागि तारबार गर्ने प्रक्रिया अघि बढाएपछि दिनेश भुसाल र घनश्याम घिमिरेबाट जग्गा खरिद गरेका जग्गाधनीहरूले उक्त जग्गा घिमिरे र भुसालबाट खरिद गरेको भन्दै तारबारका लागि अवरोध गरेका थिए।
बुटवल उपमहानगरपालिका १२ का वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदीका अनुसार, १८ कठ्ठा जग्गा भोगचलन गरेका १२ जनाले नगरपालिकामा निवेदन दिएका छन्। “जोसंग जग्गा किन्नुभएको हो, उहाँसँग पैसा फिर्ता माग्नुस्, नभए उप महानगरपालिकाबाट निर्णय गराउनुस् भनेर पठाएका छौं,” सुवेदीले भने।
उनका अनुसार अधिकारी, गैरे, घिमिरे र भुसाल जस्ता व्यक्तिले वडा नम्बर १२ मा ३० औं विघा सार्वजनिक जग्गा कब्जा गरी बिक्री वितरण गरेका छन्।
जग्गा प्रकरणमा मुछिएका अधिकारीले आफूहरूले जस्तो किनेको त्यस्तै बिक्री गरेकाले सार्वजनिक जग्गा अतिक्रमणमा आफ्नो भूमिका नरहेको दावी गरे।
“हामीले जस्तो लिएका थियौं, उहाँहरूले त्यस्तै लिन्छौं भन्नुभयो, आफ्नो इच्छाखुसीले लिनुभएको हो,” अधिकारीले भने।
सार्वजनिक जग्गा अधिक्रमण रोक्नका लागि वडा नम्बर १२ को भैरव साझा टोल विकास संस्थाका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न निकायमा उजुरी दिए पनि कसैलाई कारबाही भएन।
संस्थाका अध्यक्ष देवीप्रसाद रेग्मी टोल विकास संस्थाले विभिन्न पहल गर्दा पनि सार्वजनिक जग्गा अतिक्रमणलाई रोक्न नसकेपछि बुटवल उपमहानगरपालिकालाई अनुरोध गरिएको बताउँछन्।