अमिताभ बच्चन कोरोना संक्रमणमुक्त, अभिषेकको परीक्षण रिपोर्ट भने पोजिटिभ
कोरोनाभाइरसको संक्रमणपछि अस्पतालमा उपचार गराइरहेका बलिउड अभिनेता अमिताभ बच्चन संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
उनले आज साँझ ट्वीट गर्दै अस्पतालबाट घर फर्किएको जानकारी दिएका छन्। गएको २७ असारमा कोरोना संक्रमणको पुष्टि भएपछि उनी मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका थिए।
उनले आमा र बुवाको आशीर्वाद, आफन्तजन, मित्रहरु र प्रशंसकहरुको प्रार्थना र कामनाले आफू निको भएको ट्वीटमा उल्लेख गरेका छन्। साथै, अस्पतालको उत्कृष्ट सेवाले संक्रमणलाई जित्न सकेको उनले बताएका छन्।
अमिताभको परिवारका चार सदस्यमा कोरोना संक्रमण भएको थियो। उनी र छोरा अभिषेकलाई एकै दिन २७ असारमा कोरोना पुष्टि भएको थियो भने त्यसको भोलिपल्ट ऐश्वर्या र उनकी छोरी आराध्यालाई पनि संक्रमण देखिएको थियो। ऐश्वर्या र आराध्या १२ साउनमा डिस्चार्ज भइसकेका छन्।
परीक्षणको रिपोर्ट पोजिटिभ नै आएपछि अभिषेक भने अझै नानावती अस्पतालमै छन्। उनले पिता संक्रमणमुक्त भएपछि आजै ट्वीट गर्दै दुर्भाग्यवश आफू पोजिटिभ नै रहेको र उपचार गराइरहेको लेखेका छन्। उनले आफ्नो परिवारका लागि दिएको शुभकामनाका लागि सबैलाई धन्यवाद दिंदै यसप्रति ऋणी रहेको उल्लेख गरेका छन्।
उनले कोरोनालाई हराउने र स्वस्थ भएर फर्किने वाचा समेत गरेका छन्।