सात विदेशी वायुसेवा मात्रै नेपाल आउन इच्छुक, राष्ट्रिय ध्वजावाहक पाँच गन्तव्यमा उड्ने
१ भदौदेखि अन्तर्राष्ट्रिय उडान खुला हुने भए पनि वायुसेवाका गन्तव्य देशमा फैलिएको संक्रमण र जोखिमको अवस्था विश्लेषण गरेर मात्रै सम्बन्धित वायुसेवालाई उडान अनुमति दिने सरकारको तयारी छ।
सरकारले १ भदौदेखि आन्तरिकसँगै बाह्य उडानको अनुमति दिने निर्णय गरेपछि १८ साउनसम्ममा विदेशबाट सात वटा वायुसेवाले मात्र उडानको इच्छा देखाएका छन्। नियमित उडान गर्न अनुमति माग्नेमा संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजीरा एयरलाइन्स, चीनको एयर चाइना, चीनकै चाइना साउदर्न, ओमानकाे सलाम एयर, भारतकाे इण्डिगो एयर र टर्कीको टर्किस एयरलाइन्स रहेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार, नेपाल उडान गर्न निवेदन दिएका वायुसेवामध्ये फ्लाई दुबई, सलाम एयर, इण्डिगोले सातामा ७/७ वटा, जजीराले २ वटा, टर्किस, एयर चाइना र चाइना साउदर्नले सातामा १/१ वटा मात्रै उडान अनुमति मागेका छन्। “उडान दुई सातापछि शुरु हुने भएकाले अनुमति माग्ने समय अझै बाँकी छ, यस बीचमा थप वायुसेवा आउन सक्छन्”, उनी भन्छन्।
टर्किसले भने ५ भदाैदेखि उडान सुरु गर्ने भएको छ। यो वायुसेवाले सुरुमा हरेक विहीबार मात्रै उडान गर्ने र यात्रु बढ्दै गएको अवस्थामा उडान संख्या पनि बढाउँदै सातामा ५ वटा पुर्याउने गरी तालिका स्वीकृत गराएको छ। टर्किसले प्राधिकरणबाट स्वीकृत गराएको उडान तालिकामा ९ असोजसम्म साताका १ उडान मात्रै गर्ने उल्लेख छ।
नेपालबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा जाने एयरलाइन्सले पनि उडान अनुमति माग्ने समय बाँकी नै छ।
कोरोनाभाइरस महामारीका कारण गरिएको बन्दाबन्दीले झण्डै पाँच महीनापछि नेपालले व्यावसायिक उडान खुला गर्दैछ। अब सरकारले स्वीकृति दिएपछि मात्रै सम्बन्धित देशका वायुसेवाले नियमित यात्रु उडान गर्न पाउँछन्। नेपाल आउन इच्छुक सात वायुसेवालाई पनि सरकारले दिएको स्वीकृति अनुसार नै उडान तालिका स्वीकृत भएको प्राधिकरणले जनाएको छ।
नेपालबाट बाहिर जाने वायुसेवाले चार्टर्ड उडानको अनुमति पाएको समय अझै एक साता बाँकी छ। त्यसपछि नियमित उडानको तालिका स्वीकृत गर्ने प्राधिकरणको तयारी छ। तर, त्यसका लागि नेपालबाट बाहिरिन र अन्य मुलुकबाट भित्रिन कुन वायुसेवालाई दिने र कुनलाई नदिने भन्ने सरकारी निर्णय आएपछि त्यसको आधारमा उडानको अनुमति दिने प्राधिकरणका प्रवक्ता क्षेत्रीले बताए।
उनले भने, ‘‘कोरोना संक्रमणबाट प्रभावित मुलुकबाट जहाज आउन दिने कि नदिने र कुन विधि अपनाएर आउन पाउने भन्ने निर्णय सरकारले नै गर्छ, त्यसैको आधारमा सम्बन्धित वायुसेवालाई उडान अनुमति दिने तयारी छ।”
निगम पाँच गन्तव्यमा जाँदै
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले शुरुमा पाँच वटा गन्तव्यमा जाने गरी उडान तालिका बनाइरहेको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार, निगमले यूएईको दुबई, कतारको दोहा, मलेशियाको क्वालालम्पुर, जापानको नारिता र हङकङमा नियमित उडान गर्नेछ। कुन गन्तव्यमा कति वटा उडान गर्ने विषयमा भने एक–दुई दिनमा तय गरेर प्राधिकरणबाट अनुमति लिने उनले बताइन्।
अन्तर्राष्ट्रिय उडान गर्ने नेपालको निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले बन्दाबन्दी अघिका नियमित उडानका सात वटा गन्तव्यमा हवाई सेवा गरेकाे भएपनि अब हुने उडानका लागि भने पाँच वटा गन्तब्यमा जाने तयारी गरेकाे छ। हिमालयले चीनको चोङचिङ, यूएईको अबुधावी, साउदी अरबको दमाम, कतारको दोहा र मलेशियाको क्वालालम्पुरमा उडान गर्ने गरी प्राधिकरणबाट उडान अनुमति लिएको छ। हिमालयले प्राधिकरणबाट सातामा दमाममा सात, दोहामा पाँच, क्लालालम्पुर तथा अवुधावीमा ५/५ र चोङचिङमा एक उडान गर्ने गरी अनुमति पाएको छ।
उड्डयन प्राधिरकणका महानिर्देशक राजन पोखरेल सरकारले कुन गन्तव्यमा कति उडान गर्न दिने र कुन वायुसेवालाई कति उडान अनुमति दिने भनेर औपचारिक रुपमा टुङ्गो लाग्न बाँकी नै रहेको बताउँछन्। सामान्य अवस्थामा उडान हुने गरेका सबै देश र गन्तव्यमा तत्कालै हवाई सेवा शुरू नहुने उनको भनाइ छ।
‘‘१ भदौदेखि उडान खुला गर्ने निर्णय भए पनि त्यही दिनदेखि सबै वायुसेवा आउँछन् र नेपालबाट पनि बाहिर जान्छन् भन्ने होइन”, उनी भन्छन्, “संक्रमण फैलिएको देशको अवस्था र वायुसेवाको प्रस्तावलाई हेरेर मात्रै निर्णय लिइनेछ।’’
बन्दाबन्दी अघि नेपालमा १५ देशका ३० वटा वायुसेवाले उडान गर्दै आएका थिए।