चेल्सीलाई हराउँदै आर्सनलले उचाल्यो एफए कपको उपाधि
आर्सनलले यस वर्षको एफए कपको उपाधि जितेको छ। गएराति सम्पन्न फाइनलमा लन्डन प्रतिद्वन्द्वी क्लब चेल्सीलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हाे।
आर्सनल यो जितसँगै यूरोपा लिगमा समेत छनोट भएको छ। वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा ६ मिनेटमै अग्रता लिए पनि फेरि एकपल्ट रक्षापंक्ति धर्मराउँदा चेल्सीले यो सिजन जित्न सक्ने एक मात्र उपाधि पनि गुमायो।
शुरुमै राम्रो मूभ बनाएको चेल्सीले छैठौं मिनेटमा क्रिष्टियन पुलिसिकको गोलमा अग्रता लिएको थियो। तर, आर्सनल कप्तान अबामेयाङलाई चेल्सीका कप्तान सिजर अज्प्लिक्वेटाले पेनाल्टी बक्समा लडाएपछि आर्सनलले स्पट किकमार्फत् खेल बराबरीमा ल्यायो।
अबामेयाङले प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गरे। दोस्रो हाफमा अबामेयाङले नै दोस्रो गोल गरेर प्रशिक्षक मिकेल आर्टेटालाई पहिलो सिजनमै उपाधि दिलाए। चेल्सीका लागि पहिलो हाफमै कप्तान अज्प्लिक्वेटा घाइते भएर बाहिरिनु, दोस्रो हाफको शुरुमै स्टार खेलाडी पुलिसिक पनि घाइते भएर मैदान छाड्नु महंगो सावित भयो।
दोस्रो हाफमा चेल्सीको मिडफिल्ड थामेका माटियो कोभाटिचलाई दोहोरो पहेंलो कार्डसहित मैदानबाहिर पठाइएपछि चेल्सीको संकट थप बल्झियो। फाइनलमा इङ्लिस रेफ्री एन्थोनी टेलरका केही विवादास्पद निर्णय पनि चेल्सीका लागि बाधक बने।
कोभाटिचलाई दिइएको दोस्रो पहेंलो कार्ड भिडिओ रिप्लेमा हेर्दा विवादास्पद देखियो। तर, टेलरले भिडिओ असिस्टेन्ट रेफ्री (भार)को प्रविधि उपयोग गरेनन्। त्यसैगरी आर्सनलका गोलरक्षक मार्टिनेजले पेनाल्टी बक्स बाहिर आएर बल समात्दा पनि रेफ्री टेलरले भारको उपायेग गरेनन्।
फुटबल विश्लेषकहरुले रेफ्री निर्णयको आलोचना गरिरहँदा पोष्ट म्याच कन्फ्रेन्समा चेल्सी प्रशिक्षक फ्रांक लाम्पार्डले पनि रेफ्रीका विवादास्पद निर्णयमा प्रश्न उठाए। खेलाडीको चोटले ग्रस्त चेल्सीले आउँदो शनिबार राति च्याम्पियन्स लिगमा बायर्न म्युनिखको सामना गर्दैछ। पहिलो लेगमा बायर्नले ३–० गोलको अग्रता लिएको छ।