राखेपमा सिलवालको सहज नियुक्ति, कठिन कार्यकाल
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अघिल्लो कार्यकाल एक वर्ष सदस्य-सचिव रहँदा रमेश सिलवालले प्रशंसा बटुलेका थिए। सरकारले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको छ। अबको उनको यात्रा थप चुनौतीपूर्ण हुन सक्ने खेल विज्ञहरुको विश्लेषण छ।
परिषद्को नयाँ ऐन आएपछि पदमुक्त भएर नयाँ प्रक्रियाबाट पुन: सदस्य–सचिवको कार्यभार सम्हालेका सिलवालमाथि आशा गर्नेहरु धेरै छन्। उनको दोस्रो कार्यकालबारे खेल प्रशासक, खेलकर्मी लगायतमा चासो रहेकोमा खासगरी खेलाडीहरुले बढी नै आशा गरेका छन्।
उनीबाट आशा हुनुका केही कारण छन्। १३औं दक्षिण एशियाली खेलकुदको आयोजना उनले कठिन अवस्थामा पनि सम्भव बनाएका थिए। लथालिङ्ग खेलकुद पूर्वाधार, अस्तव्यस्त व्यवस्थापन, शून्य बजेट र तयारीका लागि जम्मा चार महीनाको छोटो समय बाँकी रहँदा धेरैका लागि त्यो प्रतियोगिता 'हुनै नसक्ने' अवस्थामा थियो।
१३औं साग कुनै दुर्घटनाविना सम्पन्न मात्र भएन, नतिजाका हिसाबले पनि ५१ स्वर्णसहित अहिलेसम्मकै सफल दरियो। उक्त प्रतियोगिताको सफलता सिलवालको लागि 'सक्षम प्रशासक' को प्रमाणपत्र थियो। जसले गर्दा राजनीतिक नियुक्तिको त्यो पद पाउन यसपाली थुप्रैले गरेको राजनीतिक दौडमा उनी योग्य उम्मेदवार बने।
सिलवाल प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका पात्र हुन्। तर, ओली गुट वा सिलवाल मन नपराउने सत्तारुढ नेकपाका विभिन्न शक्तिहरुले पनि उनको क्षमता भने नकार्न सकेनन्।
परिषद्को नेतृत्वका लागि सिफारिश हुँदादेखि निर्णय हुँदासम्म रस्साकस्सीमा सिलवाल शान्त रहे। चार वर्षे कार्यकालको लागि सपथ ग्रहण गरेपछि भने, "चार वर्ष खेलकुद हाँक्ने योजना थियो। एक वर्ष (अघिल्लो कार्यकाल) बोनस पाएछु।"
यद्यपि खेल विज्ञहरुले संशय प्रकट गरे झैं उनको चार वर्षे यात्रा सहज भने देखिंदैन।
ऐन कार्यान्वयनदेखि आन्तरिक व्यवस्थापनका चुनौती
राखेप सदस्य-सचिवका रुपमा सिलवालको पहिलो चुनौती नयाँ ऐनको परिचालन नै हो। नयाँ ऐनले परिषदमाथि साना-ठूला जुनसुकै काममा युवा तथा खेलकुद मन्त्रालयले नियन्त्रण गर्न सक्ने प्रशस्त आधार दिएको छ। यो परिस्थितिमा 'मन्त्री-सदस्य सचिव' बीचको संभावित टकरावलाई सन्तुलनमा राखेर परिषद्लाई अगाडि बढाउनु उनको फेरिएको चुनौती हो।
अर्कोतर्फ, नयाँ ऐनमा उल्लिखित कतिपय अस्पष्ट विषय प्रष्ट पार्दै कार्यान्वयनमा लैजान सदस्य-सचिवले धेरै समय खर्चिनुपर्ने देखिन्छ। कतिपयले ऐनका थुप्रै प्रावधानमा विमति राख्ने सिलवाल त्यही कानून अवलम्बन गर्नुपर्ने जिम्मेवारीमा खरो उत्रिन सक्लान् त भन्ने आशंका पनि गरेका छन्।
ऐन कार्यान्वयनका वेला विभिन्न स्वार्थ जोडिन सक्ने सम्भावना टड्कारो छ। ऐन बनाउने वेला र सदस्य-सचिव नियुक्तिका समयमा देखिएको राजनीतिक अभ्यास हेर्दा त त्यो प्रवृत्ति जारी रहने शंका जीवितै छ।
सदस्य-सचिवसामु प्रदेश र स्थानीय तहसँगको सम्बन्धमा ऐनको अस्पष्टता मिलाउनुपर्ने, प्रादेशिक खेल पूर्वाधारको निर्माण, राष्ट्रिय संघहरुको समस्या निदान लगायत चुनौती पनि छन्। सिङ्गो ओलम्पिक कमिटीसँगको सम्बन्ध विस्तार पनि एउटा महत्वपूर्ण विषय हो।
सन् २०२२ मा 'स्पोर्टस् हिमालयन वर्ष' को रुपमा बृहत् अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने सिलवालको महत्काकांक्षी परियोजना हो। त्यसअघि उनले कोरोनाभाइरस महामारीले शिथिल बनेको नेपाली खेलकुदलाई विशेष योजनासहित जगाउनुपर्नेछ।
परिषद्भित्र कर्मचारी समायोजन र व्यवस्थापन गरी चुस्त पार्नुपर्ने पाटो पनि सिलवालको टाउको दुःखाइको विषय हुनेछ। परिषद्को व्यवस्थापन धारिलो मानिंदैन। वर्षौंदेखि समाधान हुन नसकेको कर्मचारी बढुवा प्रक्रिया थाती नै छ। प्राविधिक कर्मचारीहरुमा आफ्नो काममा भन्दा राजनीतिक खेलमा रुचि छ। कर्मचारी समायोजन गर्नै बाँकी छ। करारमा रहेकाहरुको वैकल्पिक व्यवस्था गर्नु छ।
सिलवालका अर्को चुनौती आफैंले गरेका वाचाहरु हुन्। त्यो पूरा गर्ने शुरुआत उनले यही वर्ष नवौं राष्ट्रिय खेलकुदको आयोजना गरेर थाल्नुपर्नेछ। सन् २०२२ मा 'स्पोर्टस् हिमालयन वर्ष' को रुपमा बृहत् अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने उनको महत्काकांक्षी परियोजना हो। त्यसअघि उनले कोरोनाभाइरस महामारीले शिथिल बनेको नेपाली खेलकुदलाई विशेष योजनासहित जगाउनुपर्नेछ।
खुम्चिएको प्रभाव, बढेका अपेक्षा
सदस्य-सचिव सिलवालसामु चुनौतीको चाङ बढेकै वेला उनको शक्ति भने खुम्चिएको छ। खेलकुद मन्त्रालय ठूलो मुख गरेर बसेको छ। कोरोनाभाइरस महामारीका कारण खेलकुदको बजेट पनि स्वाट्टै घटेको छ। साथै, उनको असफलताको लागि हरसम्भव प्रयास गर्नेहरु तयार भइसकेका कारण तिनको पनि अवरोध सामना गर्नुपर्नेछ। जबकि, महामारीपछि अन्य क्षेत्र झैं ठप्प बनेको नेपाली खेल क्षेत्र पुनर्जीवनको पर्खाइमा छ।
यो अवस्थामा सिलवालले अघिल्लो कार्यकालमा झैं आफ्नो प्रभाव देखाउन सक्लान् त ? उनीबाट आशा गरिएको खेल क्षेत्र र खेलाडीको विकास सम्भव होला त? यसको उत्तर उनले गर्ने काम र चाल्ने कदमले दिनेछ।
नयाँ कार्यकाललाई 'कार्यकुशलता देखाउने अवसर' बताएका सिलवालको त्यो कुशलता खेलक्षेत्रले पर्खिरहेको छ।