‘बुढो गौंडा र इष्टेनीहरू’ सार्वजनिक
पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरू’ सार्वजनिक भएको छ। शनिवार शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले संग्रह सार्वजनिक गरे।
पुस्तक सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरू’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रुपमा अवस्थित धनकुटा बजार अर्थात गौंडालाई उजागर गरेको बताए।
“धनकुटाकाको सुन्दरता र मर्मलाई जो कसैले बुझ्न सक्दैनन्,” उनले भने, “यस कविता संग्रहले त्यहाँको रीति-रिवाज, साँस्कृतिक र ऐतिहासिक पक्षलाई समेटेको छ।”
पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार डा. रत्नमणि नेपालले कविता संग्रहले धनकुटाले फैलाएको संस्कारलाई पुनर्ताजगी गरेको बताए।
कर्यक्रममा उपस्थित साहित्यकार तथा प्रकाशक संस्था पुर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारी, साहित्यकार पवन आलोक, पत्रकार राजेश राईलगायतले पत्रकारितामा स्थापित कवि अधिकारीले साहित्यको क्षेत्रमा पनि बलियो उपस्थिति देखाएको टिप्पणी गरे।
‘बुढो गौंडा र इष्टेनीहरू’ कविता संग्रहका लेखक कवि अधिकारीले पृथ्वीनारायण शाहको पालादेखिको प्रशासनिक थलो धनकुटा प्रादेशिक संरचनापछि राजधानी हुनबाट बञ्चित भएकाले आफूले पुनःस्मरण गराउन मात्रै चाहेको बताए।