सभामुखको अगुवा गाडीमा खटिएका थिए कोरोना संक्रमित सुरक्षाकर्मी
संघीय संसदको प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाको सुरक्षामा खटिएका एक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
सभामुखको सुरक्षामा स्कर्टिङका लागि अगुवा गाडीमा हिँड्ने प्रहरी प्रधान कार्यालयका एकजना सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भएको खबर आएको सभामुखको सचिवालयले जानकारी गराएको छ।
संक्रमित सुरक्षाकर्मी गएको ६ साउनमा अन्तिम पटक सभामुखको सुरक्षा अगुवा गाडीमा खटिएका थिए। पछिल्लो समय प्रहरी प्रधान कार्यालयका अधिकृतहरूको पीसीआर परीक्षण गर्दा संक्रमण देखिएकामध्ये सभामुखको सुरक्षामा खटिएका व्यक्ति पनि रहेको जानकारी सचिवालयलाई आएको स्रोतले जानकारी दियो।
"संक्रमण देखिएका व्यक्ति सभामुखको सचिवालयका व्यक्ति होइनन्, अगुवा गाडीमा खटिएका सुरक्षाकर्मी हुन्। प्रहरी प्रधानकार्यालयबाट यस बिषयमा जानकारी आएपछि सचिवालयमा रहेका हामी सबैले हिँजो नै स्वाब परीक्षणका लागि दिएका छौं" सचिवालय स्रोतले भन्यो, "त्यसको रिपोर्ट भोलीसम्म आइपुग्छ।"