सांसद प्रदीप यादव भन्छन्- संक्रमितहरुले स्वास्थ्यकर्मीको सल्लाह पाउन छाडे
म वीरगन्जमा छु। मलाई कोरोना पोजिटिभ भएको रिपोर्ट हिजो (शुक्रबार) बेलुका १० बजेतिर आएपछि थाहा पाएँ।
वीरगंजमा कोरोना संक्रमित बढ्दै गएपछि म वीरगन्ज र काठमाडौं आउने जाने गरिरहेको थिएँ। हाम्रो समिति (सार्वजनिक लेखा समिति) ले गठन गरेको वैज्ञानिक वन अध्ययन उपमितिको सदस्य पनि भएकाले साउन १५ गतेसम्म विभिन्न जिल्ला भ्रमणमा पनि गएको थिएँ।
१५ गते सिन्धुलीमा भएको कार्यक्रमबाट छुट्टिएर वीरगन्ज पुगेपछि जाँच गराउनुपर्छ भनेर स्वाब परीक्षणका लागि दिएको थिएँ। पोजिटिभ आएको थाहा हुने बित्तिकै सल्लाह लिन डाक्टरहरुलाई फोन गरें। तर, कसैले फोन उठाएनन्। रातको ११ बजेसम्म १०औं पटक फोन गर्दा पनि उठेन। पछि सिडिओलाई फोन गरेर जानकारी गराएँ।
म संक्रमित भएको उपसमिति संयोजकलाई पनि जानकारी गराइसकेँ। म बाढी प्रभावित ठाउँहरुमा पनि गएको र धेरै हिंडिरहने भएका कारण जता जाँदा पनि सचेत भएर हिड्थेँ। मसँग नजिक भएकाहरुलाई जाँच गर्न भनिसकेको छु।
राति डायरिया पनि भएपछि डर लागेकाले सल्लाह लिनैपर्छ भनेर डाक्टरहरुलाई फोन गरिरहेँ। पोजिटिभ भन्ने थाहा पाएपछि डायरिया भएको थियो, अहिले ठीक भइसक्यो। तर, खोकी अलिअलि छ।
डेढसय जना जति कोरोना पोजिटिभहरु घरमै छन्, उनीहरु कसरी बसिरहेका होलान्? हाम्रो तराईतिर एउटै शौचालय धेरैले प्रयोग गर्छन्। सबै जना पोजेटिभ भइसके कि जस्तो भइसक्यो।
स्वास्थ्यकर्मीहरू कसैको फोन नउठेपछि लाग्यो, यहाँ संक्रमितहरु घरमै मर्दा पनि कसैले मतलब नगर्ने अवस्था भइसक्यो। एउटा त जाँच कति भयो भन्ने कुरा हो। अर्को, पोजेटिभ हुनेले स्वास्थ्यकर्मीबाट सल्लाह समेत पाउन छोडे।
डेढसय जना जति कोरोना पोजिटिभहरु घरमै छन्, उनीहरु कसरी बसिरहेका होलान्? हाम्रो तराईतिर एउटै शौचालय धेरैले प्रयोग गर्छन्। सबै जना पोजिटिभ भइसके कि जस्तो भइसक्यो।
म त अहिलेसम्म घरमै ‘आइसोलेट’ भएर बसेको छु। सरकारले बनाएको आइसोलेसन पनि अब कहीँ खाली छैन। कोरोना पोजिटिभ भइसकेपछि के गर्ने भनेर मलाई त धेरथोर थाहा थियो। तर, मेरो कल देखेर अहिले बिहान (बिहान ९ बजेसम्म) कसैले कल ब्याक नै गरेका छैनन्। मैले जसरी डाक्टरलाई फोन गर्न सक्ने कति नै हुन्छन् र?
‘वीरगंजमा कोरोना संक्रमितहरु घर भित्रै मर्दा पनि कसैले थाहा नपाउने र मतलब नगर्ने अवस्था भयो’ भनेर हिजो प्रधानमन्त्रीलाई जानकारी गराउन पत्र पठाएँ। उहाँलाई फोन पनि गरेको निजी सचिवले उठाउनुभयो। कुरा हुन सकेन।
म पोजिटिभ भएको खबर र वीरगन्जको अवस्था ट्वीटरमा लेख्दै प्रधानमन्त्रीज्यूलाई पनि मेन्सन गरेको छु। हेरेर केही रेस्पोन्स हुन्छ कि! आज पनि उहाँसँग कुराकानीका लागि प्रयास गर्छु ।
वीरगन्ज त ‘कोरोना सिटी’ भइसक्यो। तीनवटै सरकार नलाग्ने हो भने यहाँको अवस्था धेरै भयावह हुन्छ। वीरगन्जको समस्या लेखिदिन मुख्यतः अब मिडियालाई मेरो आग्रह छ। मिडियामा आएपछि सरकारले बल्ल काम गर्ने गरेको देखिएको छ।
स्वास्थ्यकर्मी, अस्पतालको अवस्थाबारे माननीय उपप्रधानमन्त्री इश्वर पोखरेल र स्वास्थ्य मन्त्रीज्यूसँग टेलिफोनमा कुराकानी गरेँ। सभामुखज्यूसँग पनि आज कुरा गर्छु। हाम्रो मुख्य अविभावक त उहाँ नै हो।
म सार्वजनिक लेखा समिति सदस्य हुँ। बैठक नबसेको पनि धेरै भयो, पछिल्लो पटक कहिले बसेको थियो ठ्याक्कै याद भएन। म पछिल्लो बैठकमा गएको थिइनँ।
संसद सचिवालयकै डा. पुष्प रिजालसँग कुराकानी भयो। उहाँ आफैंले फोन गनुभएको थियो। अब आज मेरो परिवारलाई पनि जाँच गराउँछु ।
वीरगन्ज त ‘कोरोना सिटी’ भइसक्यो। तीनवटै सरकार नलाग्ने हो भने यहाँको अवस्था धेरै भयावह हुन्छ। वीरगन्जको समस्या लेखिदिन मुख्यतः अब मिडियालाई मेरो आग्रह छ। मिडियामा आएपछि सरकारले बल्ल काम गर्ने गरेको देखिएको छ। काठमाडौंका मिडियाहरुले अभियान नै चलाइदिनुपर्याे।
-लक्ष्मी बस्नेतसँग कुराकानीमा आधारित