'अहिलेको राजनीतिले कसैलाई फूल त कसैलाई काँडा देखिरहेको छ'
३ असोज २०७२ मा संविधान जारी हुनुअघिको एक साताअघिसम्म पनि मुलुकलाई सञ्चो थिएन । संविधान जारी गर्नै नहुने पक्षमा एकथरी आन्दोलनकारी सडकमा थिए भने छिमेकी देश भारत यी आन्दोलनकारीको माग सम्बोधन नगरी संविधानलाई ‘स्वीकार’ नगर्ने दबाब दिइरहेको थियो । नेपाली–नेपालीमा सद्भाव भड्किएला कि भन्ने आशंका हरेकको ह्रदयमा चलेको ठीक यही बेला हिमाल खबरपत्रिकाले नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठसँग वार्ता गरेको थियो । १५ साउनमा ऊनैं दुर्गालालको ८५ औं जन्मदिनका अवसर पारेर उनीसँगको वार्तालाई पुनःप्रकाशन गरेका छौं ।
...
‘फूलको आँखामा फूलै संसार, …’ जस्ताे कालजयी गीतका सर्जक तपाईंले ‘फूल मात्र भएर हुँदैन, काँडा पनि फूललाई हेर्दै फूल बन्नुपर्छ’ भन्नुभएको छ । यसको अर्थ के हो ?
फूलको आँखामा फूलै संसार त हो, तर त्यो फूलको हाँसो राम्ररी देखियोस् भनेर काँडा नै अलि ओझेल परिदिन्छ कि जस्तो लाग्छ मलाई । मान्छेको नजरमा काँडा भन्नेवित्तिकै अलि बिझाउने जस्तो लाग्छ । तर, मलाई लाग्छ, फूलको पहरा काँडा पनि फूल हो ।
त्यो हिसाबले अहिलेको नेपाली समाजमा को फूल को काँडा ?
हुनुपर्ने के हो भने काँडाले पनि फूलसँग बस्दा आफूलाई फूलै पाओस् । खराब हाम्रै आँखा हो, हामी फूल र काँडा भन्छौं । अहिलेको राजनीतिले पनि कसैलाई फूल त कसैलाई काँडा देखिरहेको छ । यो वेलालाई हामी किन बिहान, दिउँसो र रात भन्छौं ? त्यो सब समय होइन र ?
तपाईंले गीतमा ‘वस्तु अन्सार’ भन्नुभएको छ, तर भइरहेको छ– जाति, वर्ग र धर्म अनुसार । किन यस्तो ?
हेर्ने आँखा नै हो, तर देख्न मन हुन्छ । फूलजस्तो शुद्ध मनले हरेक वस्तु सग्लो–सुन्दर देख्छ । यतिवेला भने तपाईंले भनेजस्तै भइरहेको छ । एउटा संविधान बनाउँदा मन होइन, अनेक आँखा हावी भइराखेको छ । ती आँखाहरू आफ्नो जाति, धर्मप्रति आग्रही र अरुप्रति संकीर्ण छन् । उसलाई मैले आफूजस्तै हेर्न सके के बिगार हुन्छ र ? को पराइ हुन्छ र ? यस्तो कुरा किन नबुझेको ?
मलाई लाग्छ, संसार बांगो हुँदै गइरहेको कारण हाम्रो आँखा नै टेढो भएर हो । टेढो आँखा सोझ्याउने अस्पताल चाहिएको छ ।
उसो भए संविधान निर्माणमा बाधा भइरहनुको कारण राजनीति गर्नेहरूको स्वार्थ नै हो त ?
आफूलाई कत्ति, के के जस्तो किन ठान्छु म,
जबकि अनायास आएर, अनायासै जान्छु म ।
कुरा यही अहंमा छ । हामी भन्छौं– ओहो कस्तो चहकिलो, झलमल्ल हिमाल । तर, हिमाल चम्केको, कसैले उसलाई झलल्ल देखुन् भनेर होइन । उसलाई त्यसै झलल देखियो । उसको विनम्रता हो, झल्किनु । त्यसैले कसैको आँखामा राम्रो छाउन विनम्रता भए पुग्छ । यही विनम्रता नै हो, अहिले नेताहरूबाट जनताले खोजेको । उनीहरूले आफ्नो छाती हिमालै भएर देखाउनुपर्छ । तर, त्यस्तो छाती अहिलेका नेताहरूमा देखिंदैन ।
तपाईं दशकौंबाट नेपालभाषा संरक्षणमा लागिरहनुभएको छ । पहिचानको समर्थक र विरोधीका नाममा अहिले भइरहेको आन्दोलनप्रति के टिप्पणी छ ?
पहिले त हामीले बुझ्नुपर्छ कि, नेपालीले संसारमै नभएको संघीयता मागेका होइनन् । अर्को कुरा, पहिचानको आधार जातीय मात्रै हुँदैन । एउटै जातिभित्र पनि शोषण, विभेद भइरहेको हुन्छ । जातीयतालाई मात्र लिएर जाँदा देश बन्दैन ।
फेरि वर्गका कुरा गरेर मात्र पनि हुँदैन । बहुजातीय नेपालमा सम्पूर्ण जातिले समान रुपमा फस्टाउन पाउनुपर्छ । जातजाति फस्टाउँदा नै नेपाल बन्छ । नेताहरूले संख्याका आधारमा जातिहरूलाई सानोठूलो मान्न मिल्दैन । अल्पसंख्यक जातिलाई हेर्ने दृष्टि पनि उस्तै विशाल हुनुपर्छ । जातीय विविधता नै नेपालको राष्ट्रियता हो । जम्मैको आफ्नोपनलाई जोगाउँदा नै विविधताको इन्द्रेणी बन्छ, त्यही हो राष्ट्रियता र लोकतन्त्र ।
तपाईंले कल्पेजस्तो समाज निर्माणमा नेताहरू कत्तिको गम्भीर देख्नुहुन्छ ?
दुःखको कुरा नै यही हो । उहाँहरू अनुदार हुनुभएको छ । संविधानले सबैको समस्याको समाधान नगर्ला, तर धेरैको चित्त त बुझाउनुपर्छ नि ! नेताहरूले यही कुरा नबुझ्दा आन्दोलन भइरहेको छ ।
जातीय राजनीतिलाई सत्ताको भर्याङ बनाउनेहरू पनि त छन् नि, होइन ?
पहिले मेरो झुकाव कम्युनिष्टप्रति थियो । अहिले आएर उनीहरूको टुपी कसैको भन्दा छोटो भएन । यिनीहरूको छुद्रता र स्वार्थले समस्या निम्तियो। माओवादीहरूले भूमिगत अवस्थाबाट पार पाउन लाग्दा उपत्यकामै भएको एउटा कार्यक्रममा म पनि पुगेको थिएँ । त्यहाँ प्रचण्ड, बाबुराम, हिसिला र अरु–अरु थिए । उनीहरूले जातीय मुक्ति माओवादीको प्रमुख उद्देश्य भएको बताए । त्यो सुनिरहेका नेवारहरू फुरुंग थिए ।
चुनावमा भोट पनि दिए, तर अहिले सबका आँखा खुलेको हुनुपर्छ । राजनीतिक दलहरूकै छलले मजस्ता धेरै जनता यतिवेला आस्थाको घायल भएका छन् । दुख्ने कुरा यही हो ।
विदेशी शक्तिका कारण संविधान नबनेको ठान्नेहरू पनि छन् । तपाईं के देख्नुहुन्छ ?
संविधान बनाउन तम्सेका हाम्रा सबै नेता आ–आफ्नै प्रकारका संघर्षबाट खारिएका छन् । यिनीहरूले देश नबुझेको भन्ने कुरै होइन । र पनि, सरल कुरा बांगिन पुगेको छ । यसमा कुनै साम्प्रदायिक दुर्गन्ध पनि घुसेको हुनसक्छ, अनेकका अनेक स्वार्थ हुनसक्छन् ।
कसैलाई स्थिति यस्तै राखिदिऊँ भन्ने होला । नेपाललाई जहिल्यै भुईंचालोले हल्लाइरहेजस्तो होस्, हामी हिलोमा माछा समाउन सकौं भन्ने छिमेकी पनि छन् ।
टीकापुरको हिंसात्मक आन्दोलनलाई यससँग जोडेर हेर्न मिल्ला ?
टीकापुरको घटनामा घूसपैठ भएको कुरा आएको छ । यो घूसपैठी को हो ? चिन्न मुश्किल पर्छ । हिलोमा माछा मार्नेहरू हाम्रो माटोलाई बेस्मारी चलाइराखेका छन् ।
देशै छुट्याउनको निम्ति कसैलाई अघि सारेको पनि पढिएको छ । तर, त्यो व्यक्ति वा शक्तिले चाहेर नेपाल बनेको हैन र उनीहरूले चाहेर टुक्रिंदैन पनि । दुई वटा ढुंगाले बीचको तरुललाई सन्चोसँग बस्न नदिएको चाहिं सत्य हो । लिपुलेकमा उत्तरी छिमेकी पनि पीडक नै देखिएको छ ।
तपाईंले गीत–कवितामा बुद्धवाणीहरू प्रयोग गर्नुभएको छ, तर कोही नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन अनशन बसिरहेका छन् । के भन्नुहुन्छ ?
म कुनै खास धर्मको निमित्त लागेको छैन, लाग्दिनँ र लाग्न पनि नपरोस् । धेरै धर्म भएको देशमा राज्यले पनि गर्ने यस्तै हो । नेपाल त्यो देश हो, जहाँ बुद्ध नै जन्मे । अब बौद्ध धर्म नेपालको राजधर्म हुनुपर्छ भन्दै अनशन बस्ने ? राज्यले सबै धर्मको सम्बद्र्धन गर्नुपर्छ, कुनै एकप्रति अपेक्षा, आग्रह वा पूर्वाग्रह झल्कन दिनुहुँदैन ।
एउटा कविको नजरले हेर्दा देशको समग्र राजनीतिक–सामाजिक अवस्था कस्तो देख्नुहुन्छ ?
अगति भन्ने हुन्छ एउटा– प्रेतात्मा जस्तो । त्यसले खुट्टा चालिराखेकै हुन्छ तर कहीं पुगिरहेको हुँदैन । अहिलेको शासकीय खुट्टा त्यस्तै भएको छ ।
जसले राजतन्त्रलाई घोक्र्यायो, उसैले राजतन्त्रका लागि दैलो खोलेको छ । म कुनवेला आऊँ भनेर राजा पर्खिबसे जस्ता लाग्छन् । आउनुपर्ने कुरा आइराखेको छैन । लोकतन्त्रको स्वाद चाख्न पाइएको छैन । कोही पनि कहीं पुगिराखेका छैनन् ।
जातीय सद्भाव भड्किएला कि भन्ने त्रासलाई लिएर तपाईंको कवि हृदय के भन्छ ?
मलाई यो सद्भाव भन्ने कुरा कुनै बाघको दूध हो भन्ने लाग्दैन । कसैको पहिचान नमरोस् भन्ने शासकीय शुद्ध मन भइदिए सद्भाव आफैं मौलाउँछ । शासक उदार भइदिए एउटा जातिको संस्कृति स्वतः अर्कोमा, अर्कोको आफ्नोमा सर्छ, जसरी हामी भाषाको अनुवाद गर्छाैं ।
राज्यले यसरी एउटाको आत्माले अर्काेको आत्मामा तादाम्यता पाउने वातावरण बनाए नेपालमा लाखौं आत्मा एक भएर रमाउँथ्यो ।
त्यसमा कत्तिको आशावादी हुनुहुन्छ ?
विश्वास यही हो है मेरो बाँच्ने मुख्य अडान,
यो विध्वंशबाट उदाउँछ नौलो सृष्टि बिहान ।
(२७ भदौ-२ असोज २०७२ को हिमाल खबरपत्रिकाको अंकबाट पुनःप्रकाशित। श्रेष्ठसँगको यो अन्तर्वार्ता ‘सद्भाव भन्ने चिज बाघको दूध होइन’ शीर्षकमा छापिएको थियो।)