पशुपति क्षेत्र विकास कोषको सय वर्षे गुरुयोजनाको विरोधमा स्थानीय आन्दोलित
पशुपति क्षेत्र विकास कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरू आन्दोलित भएका छन्। पशुपति क्षेत्र आसपासका प्राचीन बस्ती विस्थापित गर्नेगरी गुरुयोजना आएको भन्दै स्थानीय बासिन्दाहरू आन्दोलित भएका हुन्।
स्थानीयहरूले शुक्रबार पत्रकार सम्मेलन गरी धर्म, संस्कृति, सभ्यताको विनाश हुनेगरी गुरुयोजना आएको भन्दै विरोध जनाएका छन्। पशुपति क्षेत्रमा हुने २२ वटा जात्रा र १ सय ८ वटा पर्व पूजाबाट प्राचीन बस्ती र धार्मिक महत्व बीचको सम्बन्ध प्रमाणित हुने भन्दै प्राचीन बस्ती नहटाउन स्थानीयले माग गरेका हुन्।
पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक कृष्णमान श्रेष्ठले नेपालको सभ्यता र पहिचान बोकेको मौलिक संस्कृति, मूर्त अमूर्त सम्पदा तथा प्राचीन बस्ती तथा संस्कृति नै विस्थापित गर्नेगरी ल्याइएको गुरुयोजनाको विरोध गरिएको बताए। उनले गुरुयोजना विनाशकारी र अदूरदर्शी रहेकाले खारेज गर्न सरकारसँग माग गरे।
पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र आसपासमा रहेका बस्तीहरू हटाउने गरी एक सय वर्षे रणनीतिक गुरुयोजना प्रस्ताव गरेको छ। त्यसैको विरोध गर्दै स्थानीयले संवेदनशील पाशुपत क्षेत्र ‘‘ग्वल’’ लाई पशुपति क्षेत्र विकास कोषले खेलवाड गरी विनाश र विध्वंशात्मक नीति लिएको बताएका छन्।