नेपाल–भारत सम्बन्ध सुधार्न ‘ट्र्याक टु’ कूटनीति
भारतीय शासकको चरम हेपाहा प्रवृत्ति र प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले बिग्रिएको दुई देशबीचको सम्बन्धमा पुगेको क्षतिलाई जनता(जनताबीचको पारस्परिक विश्वास र सद्भावले पुर्न सक्छ।
देश-देशबीचको सम्बन्ध मुख्यतस् ती देशका ऐतिहासिक, सांस्कृतिक, धार्मिक र भाषिक पृष्ठभूमिबाट निर्मित हुन्छन्। विगतको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धले भविष्यको सम्बन्धलाई दिशानिर्देश गरेको हुन्छ। तर, नेपाल-भारत सम्बन्ध इतिहासका पुस्तकमा मात्र नभएर धार्मिक ग्रन्थ र मिथसम्ममा समेटिएका छन्।
शेखर खरेल
प्राचीन कालमा आजको आधुनिक भारत वा नेपाल भन्ने मुलुक अस्तित्वमा नरहे पनि हिन्दू धर्मका प्राचीन ग्रन्थ पुराण, रामायण र महाभारतमा अहिलेको नेपाल र भारतले चर्चेको भूखण्ड र त्यस सरहदभित्रका पात्रहरूका अनगिन्ती प्रसङ्ग समेटिएका छन्। नेपाल-भारत सम्बन्धमा उपमा र अलङ्कारको जुन प्रकारको प्रयोग हुन्छ, त्यो शायदै अन्य कुनै दुई देशको हकमा देख्न सकिन्छ।
सन् २०१४ को लोकसभा निर्वाचनमा प्रचण्ड मतका साथ सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसै वर्षको अगष्ट (२०७१ साउन) को नेपाल भ्रमणमा तत्कालीन संविधानसभामा दिएको सम्बोधनमा प्रशस्तै उपमा र अलङ्कारको प्रयोग गरेका थिए। नेपाल-भारत सम्बन्ध गङ्गा नदीभन्दा पनि पुरानो भन्दै सम्बोधन शुरू गरेका उनले नेपाल र नेपालीको शान र मानमा कुनै प्रशस्ति र पदावलीको कञ्जुस्याइँ गरेनन्।
तर, मोदीको नेपाल र नेपालीप्रतिको त्यो सम्मान भाव फगत एक वाक्पटुता सिवाय केही थिएन भन्ने कुरा त्यसै वर्ष सार्क शिखर सम्मेलनको मेसोको उनको दोस्रो नेपाल भ्रमणले इङ्गित गरिसकेको थियो। जुन वेला उनले नेपालको निर्माणाधीन संविधानमा 'सबै पक्षको भावना समेटिनुपर्ने भन्दै' छिमेकी मुलुकको निजी मामिलामाथि नमागिएको सुझाव प्रस्तुत गरेका थिए। अझ, संविधानको मस्यौदा निर्माणका वेला 'चासो' को अवस्थामा रहेको भारतीय भूमिकालाई संविधान जारी गर्ने वेलासम्म हस्तक्षेपको स्तरमा पुर्याइसकेका थिए।
२०७२ असोजमा जारी भएको नेपालको संविधानप्रति भारतले नाकाबन्दीदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिशोध साध्ने यत्न गरिरह्यो। संयोग कस्तो भने, पहिलो पल्ट सत्ताको बागडोर सम्हाल्न पुगेका मोदी र संविधान जारीसँगै पहिलोपल्ट प्रधानमन्त्री बन्न पुगेका केपी शर्मा ओली गङ्गा नदीभन्दा पनि पुरानो सम्बन्धलाई प्रदूषित पार्ने कारक बन्न पुगे। यद्यपि, त्यो प्रदूषणको शुरूआत ओलीले गरेका थिएनन्, उनले मोदीको नेपालप्रतिको कठोर रबैयाको कसिलो जवाफ भने दिएका थिए। यसै प्रतिक्रियाका कारण २०७४ मंसीरको संघीय संसदको निर्वाचनमा ओलीको 'राष्ट्रवाद' को कार्डले जादू गर्यो र उनी झण्डै दुई-तिहाइ बहुमतका साथ दोस्रो पल्टका लागि सत्ताको बागडोर सम्हाल्न सफल भए।
तर, गएको वर्षको लोकसभा निर्वाचनमा प्रचण्ड मतादेशका साथ दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदीको प्रारब्ध चाहिँ पहिलो कार्यकालमा तिक्ततापूर्ण सम्बन्धमा रहेका उनै केपी ओलीसँग 'आमने-सामने' हुनु रह्यो। र, यसबीच विकसित एकपछि अर्को घटनाक्रमले नेपाल-भारत सम्बन्धलाई धेरै धमिल्याएको छ। मोदी दोस्रो कार्यकालसम्म आइपुग्दा छिमेक नीतिमा नराम्ररी चुकिसकेका छन्। पाकिस्तानसँग मात्र नरहेर चीनसँग समेत सीमा विवादमा तनाव र नेपालसँगको तिक्तताले मोदीको छिमेक नीति असफल भन्दा पनि अवसानोन्मुख देखिन्छ।
छिमेक चिढ्याउने होड
नेपालसँगको सम्बन्धमा मोदीको अल्पदृष्टिभन्दा पनि हेपाहा व्यवहार नै प्रष्ट देखिन्छ। २०७२ सालको महाभूकम्पका कारण कष्टसाध्य जीवन बिताइरहेका नेपालीमाथि अमानवीय नाकाबन्दी र त्यसैगरी कोभिड-१९ महाव्याधिबाट जनजीवन आक्रान्त बनिरहेको अवस्थामा निर्माण पूरा नै नभएको विवादित लिपुलेक हुँदै चीन जोड्ने सडकको उद्घाटन जस्ता कार्यले मोदीको नेपालप्रतिको हेपाइ देखाउँछ।
नेपाल-भारतबीच जनस्तरको सम्बन्ध यो तहसम्म पुग्नुमा प्रम ओलीका दुई प्रतिक्रिया जिम्मेवार छन्। लिम्पियाधुरासम्मको भूभाग नेपालको नक्शामा समेट्ने राजनीतिक निर्णय लिंदै गर्दाको बखत प्रम ओलीले जसरी भारतको राष्ट्रिय निशान सम्राट अशोककालीन चारमुखे बाघलाई इशारा गर्दै 'सत्यमेव जयते' कि 'सिंहमेव जयते' भन्ने प्रश्न गरे। त्यसले भारतीय संस्थापनलाई मात्र नभएर आमजनलाई नराम्ररी चिढ्यायो।
२०१८ मे को नेपालको दोस्रो औपचारिक भ्रमणको संयुक्त विज्ञप्तिमा सुस्ता र कालापानी क्षेत्रलाई विवादित भूमि उल्लेख गरेको भारतले सन् २०१९ नोभेम्बरमा जारी आफ्नो राजनीतिक नक्शामा लिपुलेक र कालापानीलाई आफ्नो सीमाभित्रै पार्नु र कोभिड-१९ महाव्याधिका बीच भर्चुअल कार्यक्रम मार्फत सडक उद्घाटन गर्नु नेपालमाथिको चरम हेपाहा प्रवृत्ति हो। त्यसयता भारतको क्रियाप्रति नेपालबाट जस्तो प्रतिक्रिया उत्पन्न भइरहेको छ, त्यसबाट सरकार(सरकारबीच मात्र नभएर जनस्तरको सम्बन्धलाई समेत नराम्ररी प्रभावित गरेको छ।
नेपाल-भारतबीच जनस्तरको सम्बन्ध यो तहसम्म पुग्नुमा प्रम ओलीका दुई प्रतिक्रिया जिम्मेवार छन्। लिम्पियाधुरासम्मको भूभाग नेपालको नक्शामा समेट्ने राजनीतिक निर्णय लिंदै गर्दाको बखत प्रम ओलीले जसरी भारतको राष्ट्रिय निशान सम्राट अशोककालीन चारमुखे बाघलाई इशारा गर्दै 'सत्यमेव जयते' कि 'सिंहमेव जयते' भन्ने प्रश्न गरे। त्यसले भारतीय संस्थापनलाई मात्र नभएर आमजनलाई नराम्ररी चिढ्यायो। अझ त्यो भन्दा पनि एक कदम अगाडि बढेर ओलीले २९ असारमा भानु जयन्तीको अवसरमा हिन्दुहरुका भगवान् श्रीरामको जन्मथलो भारतमा नभएर नेपालको ठोरी भएको दाबी गरे। दुई देशबीचको सम्बन्धमा गत्यावरोध भई संवादहीनता उत्पन्न भएको अवस्थामा ओलीबाट कूटनीतिक चातुर्य प्रदर्शन हुनुपर्नेमा छिमेकी चिढ्याउने अहंकार मात्र प्रकट भयो।
राम जन्मभूमि मामिलामा ओलीले जुन धरातल टेकेर दाबी गरेका छन्, त्यो स्वयंमा कमजोर छ। हिन्दूहरूका मर्यादा पुरूष श्रीराम बुद्ध, शंकराचार्य, जिजस र मोहम्मद झैं ऐतिहासिक व्यक्ति नभई मिथकीय पात्र हुन्, जसको वर्णन इतिहासका पुस्तकभन्दा पनि धार्मिक ग्रन्थमा छ। त्यसैले रामको जन्मभूमिको दाबी प्रमाणित गर्न सकिंदैन। यदि कुनै ग्रन्थ वा पुरातात्विक वस्तुका आधारमा त्यस्तो दाबी गरिन आवश्यक थियो भने त्यो वाङ्मय र पुरातत्वविद्का तर्फबाट हुनुपर्दथ्यो। राम जन्मभूमिबारे ओलीको दाबीबाट अधिकांश भारतीयको आस्थामाथि चोट पुग्यो र उत्पन्न प्रतिक्रियाका कारण ओली नेपालभित्रै पनि प्रतिरक्षाको अवस्थामा पुगे।
धर्मनिरपेक्षताको घोषणासँगै हिन्दू धर्मका धरोहर एकपछि अर्को भत्काइँदै जानु र बहुमतका साथ कम्युनिष्ट सत्तामा पुगेकै वेला राम जन्मभूमिबारे विवाद निम्त्याइनुले धेरै भारतीयका बुझाइमा ओलीको यो कदम हिन्दू धर्ममाथिको प्रहार हो। र, यस प्रकारको दृष्टिकोण निर्माणमा भारतीय संचारमाध्यमले ठूलो भूमिका खेल्दै आएका छन्। जसलाई नेपालका तर्फबाट मत्थर पारिनु भन्दा पनि उकास्ने कार्य भइरहेको छ, जसमा सबैभन्दा बढी प्रम ओलीको अहंकार जिम्मेवार देखिन्छ।
समाधानको सूत्र ट्र्याक टु
सत्तासीनका बीच सम्बन्धमा दरार आउनु नौलो कुरा होइन। तर, जब युगौंदेखिको सम्बन्ध कुनै नेता विशेषका असमझदारी, सनक र अहंकारका कारण डगमाउन थाल्छ, त्यसलाई स्थिर तुल्याउने अभिभारा नागरिकमाथि नै आइपर्छ। राजनीति इतर अर्थात् 'ट्र्याक टुु' कूटनीतिको दरकार यसै बखत हुन्छ।
भारत र पाकिस्तानबीच युद्धकै हाराहारीमा वैमनस्य झ्याङ्गिंदा समेत ती दुई देशका सर्जक, कलाकार र खेलाडी सम्बन्धलाई सुमधुर तुल्याउने प्रयत्नमा देखिन्छन्। अहिले नेपाल-भारतबीच उत्पन्न असमझदारीको निदान पनि ट्र्याक टु कूटनीति हो। मोदीको हेपाइ र ओलीको अहंकारको समुचित जवाफ इतिहासभन्दा पनि पुरानो सम्बन्ध रहँदै आएका यी दुई मुलुकका जनताबीचको आपसी विश्वास र समभाव हो।
नेपाल कुनै पनि राष्ट्रसँग सम्बन्ध बनाउन स्वतन्त्र छ। तर, एक देशको सम्बन्ध अर्को देशको मूल्यमा स्थापित हुनुहुँदैन। त्यसमाथि पनि नेपाल जस्तो भूराजनीतिक संवेदनशीलता भएको मुलुक एक राष्ट्रसँग सम्बन्ध बिग्रिएको अवस्थामा अर्को राष्ट्रसँग लहसिनु प्रत्युत्पादक हुन्छ। बरू सम्बन्ध किन बिग्रियो र त्यसलाई कसरी पूर्ववत् अवस्थामा ल्याउन सकिनेछ भन्नेबारे गम्भीर बन्न सक्नुपर्छ। दक्षिणबाट आयात हुने अत्यावश्यकीय वस्तुमाथिको रोकटोक वा नाकाबन्दी गरिएको अवस्थामा उत्तरबाट आपूर्ति हुन सक्छ। तर, दक्षिणको सांस्कृतिक निकटताको विकल्प उत्तर हुन सक्दैन। नेपालीहरू घुम्न वा व्यापार गर्न ग्वाङ्झाऊ र बेइजिङ जान सक्छन्, तर गङ्गा किनारमा गरिने पितृको श्राद्ध ह्वाङ्हो नदीमा हुन सक्दैन।
एउटा सार्वभौम राष्ट्रका रूपमा कुन मुलुकसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा नेपालको निजी मामिला रहेको रोयको मान्यता छ। यस्तो विषयमा भारतले हस्तक्षेप गर्नु भनेको नेपालमा ऊ अलोकप्रिय बन्नु हो।
नेपालका लागि 'हिन्दूस्तान टाइम्स' का संवाददाता रहिसकेका एवं हाल असम राज्यको गुवाहाटीबाट पूर्वोत्तर भारत मामिलामाथि बहुभाषिक पोर्टल सम्पादन गर्दै आएका अनिर्वन रोय नेपाल र भारतबीच पछिल्लो समय उत्पन्न असमझदारीलाई दुर्भाग्यपूर्ण बताउँछन्। रोय भन्छन्, 'नेपाल होस् वा भारत, राजनीतिज्ञहरूले अलाप्ने नै राष्ट्रवादको रटान हो, तर पनि उनीहरूले जनस्तरको सम्बन्ध तुहाउन भने सक्दैनन्।'
नेपालमा रहँदा भारतीय कूटनीतिज्ञका व्यवहार र कार्यसम्पादन सूक्ष्मतापूर्वक अध्ययन गरेका रोय नेपाल भारत सम्बन्ध बन्नु वा बिग्रनुमा नेपालबाट हुने रिपोर्टिङसँगै केन्द्र (दिल्ली) बाट लिइने नीति जिम्मेबार हुने मत राख्छन्। उनी भन्छन्, 'उनीहरूमध्ये अधिकांश नेपालबारे अत्यन्त न्यून ज्ञान लिएर पुगेका हुन्छन्। जब उनीहरू नेपालबारे केही जान्न थाल्छन्, त्यतिन्जेल घर फिर्तीको वेला भइसकेको हुन्छ।'
एउटा सार्वभौम राष्ट्रका रूपमा कुन मुलुकसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा नेपालको निजी मामिला रहेको रोयको मान्यता छ। यस्तो विषयमा भारतले हस्तक्षेप गर्नु भनेको नेपालमा ऊ अलोकप्रिय बन्नु हो। राजनीतिज्ञले पुर्याएको क्षतिलाई जनता-जनताबीचको पारस्परिक विश्वास र सद्भावले भरपाई गर्न सक्ने विश्वास उनी प्रकट गर्छन्। अहिले नेपाल-भारतबीच बिग्रिएको सम्बन्ध सुधार्ने एक मात्र उपाय पनि यही हो।