भीड कम गर्न जिल्ला प्रशासन काठमाडौँले तोक्यो बार अनुसार सेवा
कोभिड–१९ को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानीय तहका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ। अन्य विभिन्न सेवाका लागि पनि बार तोकिएको छ।
जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार निर्णय यो नियम १८ साउनदेखि लागू हुनेछ। आइतबार र बिहीबार काठमाडौँ महानगरपालिकाका नागरिकले सेवा पाउने जारी सूचनामा उल्लेख छ। सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगपालिकाका नागरिकले सेवा पाउनेछन्।
बुधबार बूढानीलकण्ठ, टोखा र कागेश्वरीमनहरा तथा शुक्रबार गोकर्णेश्वर, शङ्खरापुर, दक्षिणकाली र तारकेश्वर नगरपालिकाका नागरिकले सेवा पाउने छन्।
यसैगरी सङ्घसंस्था दर्ता सोमबार र बुधबार, सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबार, पत्रपत्रिका छापाखाना दर्ता र विधान संशोधन शुक्रबार तथा प्रतिलिपि पत्राचार हरेक दिन ४ बजेपछि हुने जनाइएको छ। शान्ति सुरक्षा निवेदन, मुद्दासम्बन्धीका कार्य, सरकारी समन्वय र छलफल भने हरेक दिन हुनेछ। काठमाडौँ, ललितपुर र भक्तपुरको जिल्ला सङ्कलन व्यवस्थापनको निर्णयअनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न उक्त नियम लागू गरिएको जनाइएको छ।