वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना पुष्टि, प्रदेश र संघलाई महामारी नियन्त्रणमा ठोस योजना ल्याउन आग्रह
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सरावगीले बिहीवार साँझ सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सरावगीले वीरगञ्जवासीलाई बचाउने प्रयास गर्दागर्दै आफै संक्रमित हुन पुगेको भन्दै प्रदेश र संघीय सरकारलाई महामारी नियन्त्रणमा ठोस योजना ल्याउन आग्रह गरेका छन।
"विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जवासीलाई बचाउन मैले हर संभव प्रयासहरू गरेँ। संघीय र प्रदेश सरकारको दायित्व अन्तरगत रहेको क्वारेन्टिन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहपरूले नलिएपछि मैले नै लिएर नागरिकको जिवन रक्षाको लागि अथक प्रयत्न गरेँ," सरावगीले उल्लेख गरेका छन्, "वीरगञ्जलाई बचाउन पीसीआर मेशिन, परिक्षणका लागि आवश्यक पर्ने किटहरूको समेत व्यवस्थापन गरेँ। क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरु सहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र वस्नेको व्यवस्था मिलाएँ।"
उनले वीरगञ्जलाई ग्रिन जोन बनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समुदायस्तरमा फेलिएको बताएका छन्।
"तपाईहरूको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोना संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु, मेराे स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै काेराेनालाई जित्ने छु," उनले भनेका छन्।
उनले अब स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था नदेखिएको भन्दै वीरगञ्जवासीको जिवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अधि बढन आग्रह गरेका छन्।
उनले कोरोना संक्रमणको लडाई जितेर पुन नागरिकको सेवामा फर्किने समेत जनाएका छन्।