राष्ट्रिय खेलकुद परिषदमा ६ जना मनोनीत
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्डमा छ सदस्य मनोनीत गरेका छन्।
राखेपको उपाध्यक्ष र सदस्य सचिवलाई शपथ खुवाएको भोलिपल्ट मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी छ जनालाई बोर्ड सदस्यमा मनोनयन गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ अन्तर्गत राखेपको अध्यक्षमा भने मन्त्री वा राज्यमन्त्री रहने व्यवस्था छ। मन्त्री विश्वकर्माले खेल विज्ञ, खेलकूद प्रशिक्षक, खेलकूद प्राविधिक वा एन्टी डोपिङ विज्ञका रुपमा राखेपका पूर्वअधिकृतसमेत रहेका चितवनका रिम रानाभाट र ओखलढुङ्गाका इन्दिरा निरौलालाई मनोनयन गरेका छन्। निरौला यसअघि पनि राखेप सदस्य थिए।
उनले राष्ट्रिय खेल संघको सिफारिसबाट काठमाडौंका अर्जुन केसी, बागलुङका सम्पन्न श्रेष्ठ र चितवनका सुवास श्रेष्ठलाई पनि मनोनयन गरेका छन्। मन्त्री विश्वकर्माले परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिका रुपमा नुवाकोटका गोविन्द्रप्रसाद भट्टराईलाई मनोनयन गरेका छन्।
मन्त्रालयले यसअघि नै राखेप उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको थियो। उनीहरुले बुधबार पदभार ग्रहण गरेका थिए।