धरानमा अत्यावश्यक बाहेकका पसल बिहान ९ देखि बेलुका ५ बजेसम्म मात्र खोल्न पाइने
सुनसरीको धरान उपमहानगरपालिकामा अत्यावश्यक बाहेकका पसल बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म मात्र खोल्न पाइने भएको छ।
आज बसेको नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दलसहितको बैठकले खाद्यन्न तथा औषधी पसल बाहेकका पसल खोल्ने समय सीमा तोकेको हो। यो निर्णय भोली (शुक्रबार) देखि लागू हुनेछ।
बैठकले समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका गर्दै थप संक्रमण फैलन नदिनका लागि यस्तो निर्णय गरेको हो। साथै पसलहरूमा सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने लगायतका नियमलाई पनि कडाई गर्ने भएको छ।
सार्वजनिक सवारीहरूलाई सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्र चलाउन दिने, तीन पांग्रे यातायातका साधन शहर बाहिर जान नपाउने भएको छ। यसको अनुगमन नियमित गर्ने निर्णय पनि भएको छ।
अनुगमनमा मापदन्ड पूरा नगरेको पाइए सञ्चालनमा रोक लगाइने धरान उप-महानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए।
बैठकले कोरोनाका विरामी ओसारपासार गर्ने एम्बुलेन्स र मृत्यु भएकाको शव लैजाने वहान व्यवस्थापन गर्न भोली ११ बजे एम्बुलेन्स र शववाहन चलाउने संस्थासँग संयुक्त रुपमा छलफल गर्ने भएको छ।
बुधबार साँझ वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएसँगै कडाई गर्न थालिएको हो।