कर्मचारीमा कोरोना पुष्टि भएपछि जलेश्वर नगरपालिका बन्द
महोत्तरीको जलेश्वर नगरपालिकाका एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका अनिश्चितकालका लागि बन्द गरिएको छ।
ज्वरो आएर विराटनगर जाँच गराउन गएको र आज बिहान संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकको काम नगर्ने गरी नगरपालिका कार्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले जानकारी दिए।
“उहाँलाई ज्वरो आएर विराटनगर जाँच गर्न जानुभएको थियो, आज बिहान कोरोना पोजेटिभ भएको खबर गर्नुभयो, त्यसपछि नगरपालिकाको बैठक बसेर अर्को सूचना जारी नभएसम्म नगरपालिका कार्यालय बन्द गर्ने निर्णय गरेका हौं,” उनले भने।
अन्य केही नगरप्रहरीमा समेत सामान्य ज्वरो आएको पाइएको छ। भोलि करीब ४० जनाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको, प्रमुख प्रशासकीय अधिकृत कडरियाले भने।
ती कर्मचारी जलेश्वरमा कार्यरत भए पनि विराटनगरकै बासिन्दा भएको नगरपालिकाले जनाएको छ। भोलिदेखि नगर क्षेत्र र नगरसँग सीमा जोडिएको क्षेत्रमा निषेधाज्ञा गर्ने निर्णय नगरपालिकाले गरेको छ।
‘जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र’ को निर्णय अनुसार जलेश्वर नगरपालिकाभरि र जलेश्वरसँग सिमाना जोडिएको महोत्तरी गाउँपालिकाको वडा नम्बर ३ र ५ मा भोलिदेखि निषेधाज्ञा गरिने भएको छ।
सो गाउँपालिकामै एक हप्ताअघि एकजनाको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो। उनको परिवारका ७ जनामा पनि संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका ‘कोभिड-१९’ फोकल पर्सन गिरेन्द्र कुमार झाले जानकारी दिए।
उनका अनुसार महोत्तरीमा हालसम्म ४६ महिलासहित ८६३ जना कोरोना संक्रमित भेटिएका छन् भने ६ महिलासहित ३२ जना आइसोलेसनमा छन्।
मुस्लिम समुदायको बाहुल्य रहेको सम्सी गाउँपालिका १३ महिलासहित ३९३ जनामा कोरोना पोजेटिभ थिए। अहिले जिल्लाभरि १६३ जना क्वारेन्टिनमा छन्।