निर्मला पन्त हत्या घटनामा मुद्दा चलाइएका आठ जना प्रहरीलाई सफाइ दिने अदालतको फैसला
कञ्चनपुर जिल्ला अदालतले निर्मला पन्तको बलात्कार र हत्या मुद्दामा जोडिएका आठ जना प्रहरीलाई सफाइ दिएको छ। आज न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले ‘यातना दिएको’ र ‘सार्वजनिक न्यायविरुद्धको कसूर’ को अभियोग लागेका आठ जना प्रहरीलाई सफाइ दिएको हो।
जिल्ला अदालतका स्रेस्तेदार यदुराज शर्माका अनुसार यातना दिएको अभियोग लागेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपी अंगुर जिसी तथा एकिन्द्र खड्का र ज्ञानबहादुर सेठीले सफाइ पाएका हुन् ।
त्यस्तै यी चारजनासहित अन्य प्रहरीहरू चाँदनी साउद, जगदीशप्रसाद भट्ट, रामसिंह धामी र हरिसिंह धामीलाई ‘सार्वजनिक न्यायविरुद्धको कसूर’ मा लागेको अभियोगबाट सफाइ दिइएको हो।
निर्मला पन्तको बलात्कार र हत्या आरोपीको रुपमा शुरुमा प्रहरीले सार्वजनिक गरेका खड्कसिंह विष्टले चार जना प्रहरीविरुद्ध यातना दिएको भन्दै जाहेरी दिएपछि उनीहरूविरुद्ध मुद्दा चलेको थियो।
त्यस्तै मृतक निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आठ जना प्रहरी अधिकारीविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसूरमा जाहेरी दिएपछि उनीहरूविरुद्ध मुद्दा चलेको हो। दुवै मुद्दा कञ्चनपुर जिल्ला अदालतमा २२ फागुन २०७५ मा दर्ता भएका थिए।
श्रेस्तेदार शर्माले प्रहरीहरूले आरोपी व्यक्तिलाई यातना दिएको नदेखिएको, उनीहरूको शरीरमा घाउचोट नदेखिएको र स्वास्थ्य परीक्षण प्रतिवेदनमा पनि उनीहरूमाथि घाउ–चोट लागेको नदेखिएको भन्दै उनीहरूलाई सफाइ दिएको बताए।
त्यस्तै प्रमाण नष्ट गरेको भन्दै लगाइएको ‘सार्वजनिक न्यायविरुद्धको कसूर’ पनि पुष्टि नभएको उनले हिमालखबरलाई बताए।
“प्रमाण नष्ट गरेको देखिएन र प्रहरीहरुले प्रमाण नष्ट गर्नुपर्ने कारण पनि अभियोग पत्रमा खुल्दैन,” अदालतको फैसलाको आधारबारे बताउँदै श्रेष्तेदार शर्माले भने, “प्रमाण संकलनमा केही कमीकमजोरी रहेको भए त्यो प्रहरीको विभागीय छानविनको विषय बन्छ भन्ने आधारमा सफाइ दिइएको हो।”
यो पनि: