सरकारी स्वास्थ्य संस्थाका प्रमुखहरूलाई निजी अस्पतालमा काम नगर्न सरकारको परिपत्र
देशभरका सरकारी स्वास्थ्य संस्थाका प्रमुखहरूले अब निजीमा काम गर्न नपाउने भएका छन्। ‘एक चिकित्सक–एक स्वास्थ्य संस्था’ कार्यक्रम अन्तर्गत सरकारले स्वास्थ्य संस्था प्रमुखहरूबाट यसलाई कार्यन्वयनमा ल्याउने भएको हो।
९ साउनमा भएको मन्त्रीस्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्तर्गतका विभाग, केन्द्र, महाशाखा, परिषद, प्रतिष्ठान तथा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा समेत संस्थाका प्रमुख र कार्यकारी प्रमुखहरू सबैले निजीमा काम नगर्न र गरिरहेको भए तत्काल छोड्न परिपत्र गरेको हो।
‘संस्थाको प्रमुख र कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका सबैले निजी प्राक्टिस नगर्ने र यदि यसभन्दा अगाडि निजीमा प्राक्टिस गर्न पूर्वस्वीकृति लिइसकेको भए सो स्वीकृति स्वतः खारेज हुनेछ,’ मन्त्रालयको परिपत्रमा भनिएको छ।
१२ साउनमा गरिएको परिपत्र अनुसार सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आफू कार्यरत सरकारी संस्थानको नाम निजी क्लिनिक तथा अस्पतालहरूमा लेख्न पनि नपाइने उल्लेख छ।
सरकारले आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेटमा यो कार्यक्रम राखेको थियो। बजेट वक्तव्यको बुँदा नम्बर ३४ मा ‘एक चिकित्सक–एक स्वास्थ्य संस्थाको व्यवस्था शुरु गरिनेछ’ भनिएको छ।
त्यसैगरी राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा पनि ‘एक चिकित्सक र स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ को अवधारणालाई सबै सरकारी स्वास्थ्य संस्थाहरूमा क्रमश लागू गरिने भनिएको छ।
यस्तै सरकारको आमा सुरक्षा कार्यक्रम लागू नगर्ने स्वास्थ्य संस्थाहरूलाई पनि अनिवार्य रुपमा लागू गर्न गराउन पनि मन्त्रालयले भनेको छ।