१३ लाख हेक्टरमा रोपियो धान, १५ प्रतिशतले बढ्याे रोपाइँ
यो वर्ष हालसम्ममा १३ लाख ११ हजार २९९ हेक्टरमा धान रोपाइँ भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १४ साउनमा जारी गरेको १२ साउनसम्मको तथ्यांक अनुसार देशैभरको धान रोपाइँ गत वर्ष २०७६ को तुलनामा १५ प्रतिशतले बढेको छ।
यो वर्ष धान रोपाइँ औषतमा ९५.६० प्रतिशत भएको कृषि मन्त्रालयका प्रक्ता डा.हरिबहादुर केसीले जानकारी दिएका छन्।
देशैभर धान रोपाइँ १३ लाख ७१ हजार ७०६ हेक्टर जमिन रहेको भएपनि गत वर्ष १२ साउनसम्ममा १० लाख ९९ हजार ८६३ हेक्टरमा रोपाइँ हुँदा ८०.१८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो।
तथ्यांक अनुसार सबैभन्दा बढी रोपाइँ तराई क्षेत्रमा ९७.०९ प्रतिशत, उच्च पहाडमा ९३.१७ प्रतिशत र मध्य पहाडमा ९१.७२ प्रतिशत रोपाइँ भएको उल्लेख छ। प्रदेश अनुसार भएको रोपाइँमा सबैभन्दा धेरै प्रदेश २ मा ९९.०२ प्रतिशत रोपाइँ भएको छ भने त्यसपछि कर्णाली प्रदेशमा ९८.५३ प्रतिशत धान रोपिएको छ।
सुदुरपश्चिम प्रदेशमै ९८.०१ प्रतिशत, प्रदेश ४ मा ९७.८३ प्रतिशत, गण्डकी प्रदेशमा ९६.७७ प्रतिशत, वागमति प्रदेशमा ८९.२४ प्रतिशत र प्रदेश १ मा ८८.९४ प्रतिशत रोपाइँ भएको तथ्यांकमा उल्लेख छ।