पूर्वको तीर्थ पाथीभरा (तस्वीर कथा)
पाथीभरा देवीको मन्दिर ताप्लेजुङस्थित विशिष्ट महत्व बोकेको धार्मिक गन्तव्य हो । समुद्री सतहबाट ३,७९४ मिटरको उँचाइमा रहेको पाथीभरा माताको दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
बाह्रै मास चिसो हावापानी हुने यो पहाडी थुम्को अन्न भरिएको पाथी जस्तै देखिने भएकाले पाथीभरा नाम राखिएको हो । पाथीभरा देवीलाई लिम्बू समुदायले ‘मुक्कुमलुङ युमा’ नामले पुकार्छन् ।
पाथीभरामा भेडा, बोका, पाठीको बलि दिन देशका विभिन्न भेगका साथै भारत र भूटानबाट समेत दर्शनार्थी आउँछन् । किंवदन्ती अनुसार देवीको इच्छा अनुसार परापूर्वकालदेखि नै मन्दिरमा बलि दिन थालिएको हो । मनोकांक्षा पूरा भएपछि बत्ती बाल्न आउने भक्तजन पनि उत्तिकै हुन्छन् ।
पाथीभरा क्षेत्र हिमाली दृश्यावलोकनका लागि पनि उपयुक्त छ । मन्दिर क्षेत्रबाट विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालका साथै साउथ कञ्चनजंघा, यालुङखाङ, मकालु, कुम्भकर्ण लगायतका हिमाल देख्न सकिन्छ ।
कसरी पुग्ने ?
काठमाडौंदेखि ताप्लेजुङको सदरमुकाम फुङलिङसम्म दैनिक रात्रि बस चल्छ । करीब २० घण्टाको यात्रापछि फुङलिङ पुगिन्छ । हवाई यात्राबाट जाने हो भने काठमाडौंबाट ताप्लेजुङको सुकेटार विमानस्थलमा हप्ताको दुई दिन सोमबार र शुक्रबार नेपाल वायुसेवाको उडान हुन्छ । फुङलिङ र सुकेटारबाट जीप मार्फत करीब दुई घण्टामा तल्लो फेदी र त्यहाँबाट सीधै उकालो करीब पाँच घण्टा हिंडेपछि पाथीभरा मन्दिर आउँछ ।
मन्दिर परिसरमा तीर्थालुलाई बासको सुविधा छैन । मन्दिरदेखि साढे एक घण्टाको दूरीमा रहेको फेदी र देउरालीमा भने खाने र बास बस्ने होटल, लज उपलब्ध छन् ।