सीपीएलका लागि सन्दीप ट्रिनिडाड प्रस्थान, पूरै लिग खेल्न नपाउने
चर्चित लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न ट्रिनिडाड एण्ड टोबागो प्रस्थान गरेका छन्। आज बिहान १० बजेको कोरियन एयरलाइन्सको चार्टर्ड उडानबाट जान उनी त्रिभुवन विमानस्थल पुगिसकेका छन्।
उनी संक्रमणबाट जोगिने विशेष प्रकारको सुरक्षा पोशाक (पीपीई) लगाएर विमानस्थल पुगेका छन्। उनी कोरियाबाट अमेरिका हुँदै खेल हुने देश ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन्।
सन्दीपले १८ अगष्टदेखि शुरु हुने सीपीएलका सबै खेल भने खेल्न भ्याउने छैनन्। यदी सबै खेल खेले इन्डियन प्रिमियर लिग (आईपीएल) गुमाउनुपर्नेछ। आईपीएल १९ सेप्टेम्बरदेखि युएईमा हुँदैछ।
सीपीएलको फाइनल खेल १० सेप्टेम्बरमा छ। सीपीएल सकिएको नौ दिनपछि आईपीएल शुरु हुनेछ। सन्दीपको टीम जमैका तालावाहको लिगको अन्तिम खेल ६ सेप्टेम्बरमा छ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले गत मे महीनामा जारी गरेको निर्देशिका अनुसार कुनै पनि श्रृङ्खलाअघि खेलाडी अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्छ।
सीपीएलकाे प्रारम्भिक चरणमा सन्दीपको टीमकाे अन्तिम खेल भएको १५ दिनपछि आईपीएल शुरु हुन्छ। उनी एकै दिनमा वेष्ट इन्डिजमा पर्ने देश ट्रिनिडाडबाट युएई पुग्न नसक्ने हुँदा कम्तीमा उक्त खेल पनि गुमाउनुपर्नेछ।
अन्यथा आईपीएल आयोजक र उनको टिम दिल्ली क्यापिटल्सले सन्दीपलाई छुट्टै क्वारेन्टिनको व्यवस्था गर्नुपर्छ। त्यसो हुँदा उनले दिल्लीबाट केही खेल गुमाउनेछन्। तर, आईपीएल र दिल्ली क्यापिटल्स आफ्ना खेलाडी गुमाउने पक्षमा हुने छैनन्।
आईपीएल आयोजकको भोलि बस्ने बैठकले कोरोनाभाइरस संक्रमणलाई ध्यान दिएर विशेष निर्देशिका जारी गर्दैछ। त्यसले पनि सन्दीपले सीपीएलमा कति खेल गुमाउनेछन् भन्ने निर्धारण गर्नेछ।
यसअघि आईपीएलले उद्घाटन दिनभन्दा एक महीनाअघि अर्थात २० अगष्टसम्ममा अनिवार्य रुपमा खेलाडी र व्यवस्थापक युएई पुगिसक्न सबै टिमलाई जानकारी पठाइसकेको छ। यदि आईपीएलले बनाउने निर्देशनले यसलाई अनिवार्य गरे सन्दीपले सीपीएलको एउटा मात्र खेल खेल्न पाउने छन्। अन्यथा आईपीएल गुमाउनुपर्नेछ।
सन्दीप जमैका तालावाहका मार्की खेलाडी हुन्। उनी आफ्नो खेल जीवनकै सर्वाधिक रकम १ लाख ३० हजार अमेरिकी डलर (करीब रु.१ करोड ५६ लाख रुपैयाँ) मा अनुबन्ध भएका हुन्।