कैलालीमा बाढीले बगाएर तीन बेपत्ता, ६ हजार घर डुबानमा
उन्नती चौधरी/कैलाली
कैलालीको भजनीमा बाढीले बगाएर बुधबार तीन जना बेपत्ता भएका छन्। बाढीले बगाउँदा रुखमा अड्किएका अरु तीन जनाको उद्धार गरिएको छ।
बाढीबाट अति प्रभावित क्षेत्र भजनी नगरपालिका– ८ सोनाफाँटाका ठग्गु चौधरीको ११ वर्षीय छोरा स्केल चौधरी, इश्वर शाही र चक्र विक बेपत्ता भएका हुन्। सानाफाँटाकै हेमन्त शाही, बल बहादुर चौधरी र बिक्की शाहीलाई पनि बाढीले बगाएको थियो। तर, उनीहरु रुखमा अड्किएपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बाढीले ६ हजार ३०० भन्दा धेरै घर डुबाननमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जनाएका छन्। कर्णाली, पथरैया, काँढा, कान्द्रा, मोहना लगायतका नदीमा आएको बाढीले जिल्लाको पूर्वी क्षेत्रमा डुबान भएको हो।
सूचना अधिकारी जोशीका अनुसार जोशीपुर गाउँपालिकामा दुई हजार ३१५ घर डुबानमा परेका छन्। त्यस्तै भजनी नगरपालिकामा दुई हजार १८०, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८२५ घर डुबानमा परेका छन्। भजनी नगरपालिकाका डुबान प्रभावितहरुलाई नजिकैको बिद्यालय र हुलाकी राजमार्गमा राखिएको छ।