देउवाले गरे पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभा विस्तार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभा विस्तार गरेका छन्। सभामा देउवाले ४७९ जनालाई मनोनयन गर्दै ज्येष्ठ राजनीतिज्ञ सभा विस्तार गरेका हुन् ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्यहरूलाई मनोनयन गरिएको जानकारी दिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विभाग र अन्य समितिहरु विस्तार कार्य रोक्न माग गरिरहेका बेला सभापति देउवाले यसअघि गत फागुनमा ३० जना पार्टीका अगुवा राजनीतिककर्मीहरू समेटेर गठन गरेको ज्येष्ठ राजनीतिज्ञ सभालाई विस्तार गरेका हुन्।
वरिष्ठ नेता पौडेल समूहले भने देउवाले पार्टीका विभिन्न विभागलाई विस्तार गरिरहेको कार्यलाई विधान विपरीत भन्दै विरोध गर्दै आइरहेको छ। बुधावार पनि देउवाइतरको समूहले पार्टी कार्यालय सानेपामा छलफल गरेर विभाग विस्तारको काम रोक्न माग गरेको छ।
छलफलले महाधिवेशनको मिति तय भइसकेको अवस्थामा पार्टीका विभाग र समितिहरू विस्तार नगर्न सभापति देउवालाई लिखित पत्र बुझाउने निर्णय गरेको छ।