आगामी महाधिवेशनमा म सभापतिको दावेदार हुँ: कांग्रेस महामन्त्री कोइराला
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू आगामी महाधिवेशनमा सभापतिको दावेदार भएको उल्लेख गरेका छन्। कांग्रेस पार्टी कार्यालयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूको भेलालाई सम्बोधन गर्दै कोइरालाले आफू आगामी महाधिवेशनमा सभापतिको दावेदार भएको बताएका हुन्।
छलफलले पार्टीको १४औं महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका विधान विपरीत विभाग गठन तथा विस्तारको काम रोक्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय गरेको छ।
छलफलमा कांग्रेस महामन्त्री कोइरालाले आचारसंहिता लागू भइसकेको अवस्थामा विभाग गठनको काम अघि बढाउनु विधान विपरीत भएको बताए।
"महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका निर्णयविरुद्ध अझ सशक्त भएर अगाडि बढ्न आज बैठक बोलाइएको हो," उनले भने, "आगामी महाधिवेशनमा म पनि सभापतिको दावेदार हुँ। यस्तोबेला नयाँ मान्छेलाई पार्टी प्रवेश गराउने र पूराना नेताहरूलाई पार्टीबाट निकाल्ने काम भइरहेको छ। यो सन्तोषजनक कुरा होइन।"
महाधिवेशन भएको ४ वर्षम्म विभाग गठन गर्न तयार नभएका सभापति देउवालाई महाधिवेशनको मुखमा किन हतारो भयो भन्ने उनको प्रश्न छ।
केन्द्रीय सदस्य चन्द्र भण्डारीले विधान अनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भएपनि विधान विपरित अहिले गठन भइरहेको कुराको विरोध स्वरुप भेला आयोजना गरिएको बताए।
यसअघि नै अहिले गठन भएका विभागहरूले वैधानिकता पाउँदैनन् भनेर सभापति देउवालाई पत्र पठाइएको उल्लेख गर्दै उनले पार्टीको कुनै पनि पद दाइजो जसरी बाँडेर हिड्ने अधिकार सभापतिलाई नभएको बताए। कसलाई के पद दिने भन्ने अधिकार केन्द्रीय समितिलाई मात्रै भएको उनको भनाइ छ।
पार्टीको महाधिवेशन कार्यतालिका तय भइसकेको अवस्थामा विभाग गठन लगायतका काम निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै पौडेल समूहले विरोध जनाउँदै आएको छ।