कोरोना संक्रमणबाट वीरगञ्जमा थप २ जनाको मृत्यु
बुधबार कोरोना भाइरसको संक्रमणका कारण वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले अस्पतालमा उपचार गराइरहेका दुई जना बिरामीको कोरोना संक्रमणका कारण ज्यान गएको बताएका छन्।
उपाध्यायका अनुसार मृतकमध्ये एक जना ६८ वर्षीय पुरुष कोरोना विशेष गण्डक अस्पतालमा र अर्का एक जना ७० वर्षीय पुरुष नेसनल मेडिकल कलेजमा उपचाररत बिरामी हुन्।
६८ वर्षीय पुरुष ११ साउनमा कोरोना विशेष अस्पताल र ७० वर्षीय पुरुष १३ साउनमा नेसनल मेडिकल कलेजमा भर्ना भएर उपचार गराइरहेका थिए।
७० वर्षीय पुरुषलाई कोरोना भएको आंशकामा स्वाब संकलन गरेकामा उनको रिपोर्ट नआउँदै बुधबार बिहान मृत्यु भएको हो। उनको बुधबार साँझ मात्र कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो।
यससँगै मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ।