पहिरोमा पुरिएर दाङमा आमा छोरीको मृत्यु
दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण बुधबार बिहान पहिरोले घर पुरिँदा बङ्गलाचुली गाउँपालिका-५ साकिनेमा आमा छोरीको मृत्यु भएको हो।
मृत्यु हुनेमा २६ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिएको छ। आधामात्रै घर पुरिएकाले सुतिरहेका परिवारका अन्य सदस्य भने सकुशल रहेको प्रहरीले जनाएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले १६ साउनसम्म देशका विभिन्न भागमा भारी वर्षा हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ। भारी वर्षामा पहिरो तथा आकस्मिक बाढीको संभावना धेरै हुन्छ।