रियल मड्रिडका स्ट्राइकर मारियानोलाई कोरोना संक्रमण
स्पेनको विश्वचर्चित् फुटबल क्लब रियल मड्रिडका स्ट्राइकर मारियानो डायजलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। क्लबले मंगलबार यसको पुष्टि गरेको हो।
रियल मड्रिडले विज्ञप्तिमार्फत् मारियानोको स्वास्थ्य सामान्य रहेको र उनी अहिले सेल्फ आइसोलेसनमा बसेको जनाएको छ। यो खबरसँगै रियलका प्रशिक्षक जिनेदिन जिदानको तनाव बढेको छ।
रियलले आउँदो ८ अगस्तमा म्यानचेस्टर सिटीसँग यूरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्न दोस्रो लेग खेल्दैछ। र मरियानोले त्यो खेल गुमाउने लगभग निश्चित छ।
त्यो खेल सिटीको मैदान इत्तिहाद स्टेडियममा हुनेछ। जिदान किन पनि बढी दबाबमा छन् भने आफ्नो घरेलु मैदानमा भएको पहिलो लेगमा रियलले सिटीलाई २–१ को नतिजा सुम्पेको थियो।
च्याम्पियन्स लिगमा कायम रहन उसले सिटीलाई कम्तीमा दुई गोलको अन्तरले पराजित गर्नुपर्ने छ।