शुरु भयो छायाँनाथ धामको तीर्थयात्रा, बाहिरी जिल्लाका भक्तजनलाई रोक
कर्णाली प्रदेशको प्रशिद्ध तीर्थस्थल छायाँनाथ धाममा मंगलबारदेखि तीर्थयात्रा प्रारम्भ भएको छ। छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँको छायाँनाथ मन्दिरमा रहेको शिवजीको मूर्ती बाजागाजा र सुरक्षाकर्मीसहित मंगलबार मकार्मारोङ गाउँपालिकाको डोल्फुमा रहेको छायाँनाथ मन्दिरमा लगिएको छ।
हरेक वर्षको श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन जिल्लाको प्रशिद्ध धार्मिक तीर्थस्थल छायाँनाथ मन्दिरमा रहेको ठाकुरज्युको मूर्ति पवित्र धाम छायाँनाथमा स्नान गर्न लगेसंगै तीर्थयात्र शुरु हुने परमपरा छ।
शिवजीको मूर्ति जनैपूर्णिमासम्म छायाँनाथ तीर्थस्थलमा राखिने छ। यसअघि उक्त ठाउँमा दर्शनको निम्ति मुगु, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछामलगायत जिल्लाबाट धामीझाँक्री र तीर्थालु आउने गरेको भए पनि यस बर्ष भने बाहिर जिल्लाका भक्तजन र तीर्थालुलाई कोरोना संक्रमणका कारण रोक लागाइएको छ।
जनैपूर्णीमामा छायाँनाथ धाममा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ। त्यसमा बर माग्न तीर्थालुको ओइरो लाग्ने गरेको छायाँनाथ मन्दिरका पूजारी भीमप्रसाद चौलागाईंले बताए।
पूजारीका अनुसार शिवशक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेको सत्यदेवीको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको हो।
छायाँनाथ जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको बरदान मागेर फिर्ता हुने गरेका छन्। मंगलबार प्रस्थान गरेको टोली अबको ९ दिनपछि जनैपूर्णीमाका दिनमा फर्किने गर्दछन्।
बुधबार नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल ऋणमोक्ष मन्दिरमा पनि छायाँनाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर तिर्थालु जाने भएका छन्।
बाहिर जिल्लालाई रोक
कोरोना संक्रमण नरोकिएकाले धार्मिक स्थलहरूमा बाहिरी जिल्लाबाट आउने भक्तालुहरूलाई रोक लगाउने भएको छ। भिडभाड हुने र कोरोना समुदायस्तरसम्म फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुगुले बाहिरी जिल्लाका तीर्थालु धामीझाँक्रीलाई रोक लगाएको छ।
छायाँनाथ धाममा भक्तालुको धेरै भिडभाड हुने भएकाले कोरोना महामारी फैलिने डर भएपछि बाहिरी जिल्लालाई नआउन पत्रचार गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए।
- अच्यूतराज भण्डारी, मुगु