काठमाडौंमा भेटिएको १५ किलो पहेंलो धातुमध्ये आधा किलो मात्रै सुन
प्रहरीले काठमाडौंमा सुन जस्तै देखिने १५ किलो पहेंलो धातु बरामद गरेकोमध्ये आधा किलो मात्रै सुन भएको खुलेको छ । आज बिहान कमलादीमा गाडीबाट फ्याँकिएको झोलामा १५ किलो सुन र दुई वटा पेस्तोल भेटिएको जानकारी दिएको प्रहरीले पछि परीक्षण गर्दा आधा किलो मात्रै सुन प्रमाणित भएको बतायो।
उक्त धातु बरामद गरेपछि त्यसबारे जानकारी दिन महानगरीय प्रहरी परिसर, टेकूले पत्रकार सम्मेलन आयोजना गरेको थियो।
महानगरीय प्रहरी वृत्तको टोलीले सुन र बाँकी पहेंलो धातु बरामद गरेको थियो । पहेंलो धातुमा थोरै मात्रामा सुन मिसाएर ठग्ने उद्देश्यले उक्त वस्तु लिएर हिंडेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । झोला फ्याँकेर गाडीमा भागेका व्यक्तिको पहिचान भइसकेको बताउँदै उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी श्याम ज्ञवालीले चाँदीमा सुनको जलप लगाएको पाइएको बताए।