आईसीसीद्वारा नेपाललाई २० सेप्टेम्बरमा नामिबिया भ्रमण गर्न प्रस्ताव
आईसीसीले क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एकदिवसीय शृङ्खला २० सेप्टेम्बर (४ असोज) बाट गर्ने प्रस्ताव गरेको छ।
आईसीसीको प्रस्तावमा नेपाल क्रिकेट संघ (क्यान) ले सकारात्मक जवाफ पठाएको छ। तर, अनिवार्य क्वारेन्टिनको व्यवस्था र अन्तर्राष्ट्रिय उडान ढिला गरी खुल्ने कारण आईसीसीले प्रस्ताव गरेकै मितिमा प्रतियोगिता हुनसक्ने सम्भावना कम रहेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन्।
नेपालले आगामी १ भदौबाट मात्र अन्तर्राष्ट्रिय उडान खुलाउँदैछ। त्यस्तै सामूहिक खेलका लागि प्रशिक्षण पनि १ भदौबाट मात्र शुरू हुनेछ। सरकारले समयमै तयारीकाे अनुमति दिए नेपालले प्रस्तावित मितिमा भाग लिनसक्ने क्यानले जनाएको छ।
क्यानले आईसीसीलाई पनि नेपाल तयार रहेको र आयोजक नामिबिया र अर्काे सहभागी देश स्कटल्याण्डसँग सल्लाह गर्न जवाफ पठाएको छ। अध्यक्ष चन्दले भने, “क्वारेन्टिनको समस्या नभए र अन्तर्राष्ट्रिय उडान खुले हामीले भाग लिन सक्ने लचिलो जवाफ पठाएका छौं। प्रस्तावित मितिमा नै शुरू नभए पनि अब नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिताको साइकल शुरू हुनेछ।”
उक्त खेल गत अप्रिलमै गर्ने आईसीसीको तालिका थियो। तर, कोरोनाभाइरस महामारीका कारण रोकिएको थियो। यो सहित नेपालको जूनमा हुने पपुवा न्यूगिनी र जुलाईमा हुने स्कटल्याण्ड भ्रमण पनि रोकिएको थियो। पपुवा न्यूगिनीमा यूएई र स्कटल्याण्डमा नामिबिया सहितको त्रिदिवसीय शृङ्खला हुने तालिका थियो।
महामारीअघि नै आईसीसीले बनाएको तालिका अनुसार क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालको आगामी खेल सन् २०२१ को शुरूमा मात्र छ। आगामी जनवरीमा ओमानमा अमेरिकासहितको शृङ्खला हुनेछ। लगत्तै फेब्रुअरीमा घरेलु मैदानमै नेपालले खेल्न पाउनेछ। त्यतिवेला युएई र पपुवा न्यूगिनी नेपाल भ्रमणमा आउनेछन्।
बन्द शिविर अझै अनिश्चित
क्यान अध्यक्ष चन्दले आईसीसीले नामिबिया भ्रमण प्रस्ताव गरेको २० सेप्टेम्बरलाई नै आधार मानेर तयारी शुरू गर्ने बताएका छन्। तर, प्रशिक्षणका लागि खेलाडीलाई बन्द शिविरमा कहिले राख्ने भन्ने नै अनिश्चित छ। क्यानले करीब एक महीनाअघि नै बन्द शिविरका लागि राष्ट्रिय खेलकुद परिषदसँग अनुमति मागे पनि जवाफ पाएको छैन।
खेलाडीले भने बन्दाबन्दी खुकुलो भएदेखि नै कीर्तिपुर मैदानमा व्यक्तिगत रूपमा अभ्यास थालेका छन्। पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, अविनाश बोहोरा, कमलसिंह ऐरी लगायतले अभ्यास थालेका हुन्।
उनीहरूलाई फिजियो विक्रम न्यौपानेले सघाइरहेका छन्। आफूहरू फिटनेश कायम राख्न व्यक्तिगत रूपमा अभ्यासमा आइरहेको राष्ट्रिय टीमका सदस्य अविनाश बोहोराले बताए। आफूहरूलाई क्यानले पनि अभ्यासमा सघाइरहेको उनको भनाइ छ।
काठमाडौं बाहिर भएका खेलाडीले पनि घरैमा फिटनेशका लागि शारीरिक अभ्यास गरिरहेको फिजियो न्यौपाने बताउँछन्। अहिले राष्ट्रिय टोलीका आठ खेलाडी काठमाडौं बाहिर छन्। न्यौपानेले भने, “बन्दाबन्दीमा पनि म उनीहरूसँग सम्पर्कमै थिएँ। फिटनेशका लागि कसरतहरू गर्न भनिरहेको थिएँ। त्यही अनुसार सिकाएको पनि थिएँ।”
बन्दाबन्दी खुकुलो भएपछि बाहिरका खेलाडीहरूलाई ल्याउन सल्लाह भइरहेको उनी बताउँछन्। “एन्फाको जस्तो हामीसँग होस्टल छैन। कसरी ल्याउने र क्वारेन्टिनमा कहाँ राख्ने भन्ने छलफल भइरहेको छ”, उनी भन्छन्।
जगत टमटाले नै प्रशिक्षण गराउने
अर्को प्रशिक्षक नियुक्त नभएसम्म जगत टमटाले नै राष्ट्रिय क्रिकेट टोली हेर्नेछन्। १ भदौमा नै बन्द शिविर शुरू भए त्यसअघि नै नयाँ प्रशिक्षक नियुक्तिको सम्भावना कम छ। नयाँ प्रशिक्षक नियुक्तिका लागि आईसीसीसँग अनुमति मागे पनि स्वीकृति आइनसकेको क्यान अध्यक्ष चन्दले बताए।
“नेपालबारे आईसीसीले विशेष निर्णय गर्नुपर्छ। त्यसकारण ढिला भएको हुनसक्छ”, चन्दले भने। प्रशिक्षक नियुक्तिको प्रक्रिया शुरू भने भइसकेको उनी बताउँछन्। तर, नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढिरहँदा राष्ट्रिय टोलीको प्रशिक्षणमा असर नगर्ने उनको भनाइ छ। “अहिले प्रशिक्षक उहाँ (जगत टमटा) नै हो, उहाँले नै प्रशिक्षण गराउनुहुन्छ”, चन्दले भने।