बागलुङमा पहिरो र बाढीबाट चारको मृत्यु
बागलुङको दुई ठाउँमा सोमबार राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छिन्। अर्का एक जनाको शव खोला किनारमा भेटिएको छ।
सोमबार रातिदेखिको वर्षाका कारण आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर र १२ वर्षीया छोरी रीताको मृत्यु भएको छ। घरमा सुतिरहेका उनीहरुलाई माथिबाट आएको पहिरोले पुरेको प्रहरीले जनाएको छ।
सँगै सुतिरहेकी उनीहरुकी आमा होमकुमारी गम्भीर घाइते भएकी छन्। उनलाई उपचराका लागि अस्पताल पठाउने तयारी भइहेको छ। पालबहादुर भने रोजगारीको सिलसिलामा विदेशमा छन् । घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
त्यस्तै निसीखोला गाउँपालिका–१ मा एउटा घर पहिरोले पुर्दा अन्दाजी पाँच वर्षीय समीर परियारको मृत्यु भएको छ। निसीखोला गाउँपालिकामा नै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ। उनको पहिचान खुलिनसकेको जनाइएको छ।