कोरोना संक्रमणको उच्च जोखिममा प्रहरी, एक सय ५८ संक्रमित
नेपाल प्रहरीका १५८ जनामा कोरोना संक्रमण देखिएको छ। नेपाल प्रहरीका कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षकसम्म देशभर १५८ जनामा कोरोना संक्रमण देखिएको हो।
प्रहरी प्रधान कार्यालयको १२ साउनसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी प्रदेश-२ मा ३४ जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ।
त्यसै गरी गण्डकी प्रदेशमा २९, कर्णाली प्रदेशमा २७, प्रदेश–१ मा २७, प्रदेश–५ मा १५ र काठमाडौं, ललितपुर तथा भक्तपुरमा गरी उपत्यकाभर १४ जना प्रहरीमा कोरोना संक्रण देखिएको हो।
संक्रमित १५८ मध्ये सबैभन्दा बढी प्रहरीको जवान दर्जाका छन्। तथ्यांक अनुसार सोमबारसम्म ८२ जना प्रहरीका जवानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रहरी हवल्दार ४८ जना, प्रहरी सहायक निरीक्षक ११ जना, प्रहरी नायब निरीक्षक ८, प्रहरी निरीक्षक ६, प्रहरी कार्यालय सहयोगी र प्रहरी उपरीक्षक १ जनामा कोरोना संक्रमण देखिएको हो।
प्रहरी प्रवक्ता निरजबहादुर शाहीले प्रहरी अग्रभागमा रहेर काम गर्ने संगठन भएकाले जोखिम कम गर्न आन्तरिक प्राेटोकल बनाएर सुरक्षाका उपायहरू अपनाउने गरिएको छ।
शाहीका अनुसार प्रहरीलाई कोरोनाको संक्रमण हुनै नदिन, संक्रमण भइहाले उपचार, जाँच पड्ताल र सेवाग्राहीसँग कसरी व्यवहार गर्ने भन्ने बारेमा विश्व स्वास्थ्य संघठन र स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार काम भइरहेको छ।
“कोरोेना संक्रमणका कारण पूरै कार्यालय नै बन्द गर्नुपर्ने अवस्था आए शान्ति सुरक्षाका लागि नजिकैको अर्को कार्यालयमार्फत सेवा लिने व्यवस्था मिलाएका छौँ,” उनले भने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीले प्रहरीलाई अग्रभागमा खटिने कर्मचारीको सूचीमा राखेर संगठनभित्र परीक्षण र कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको जानकारी दिए।