न्याय सम्पादनको त्रुटि अदालतले नै सच्याउँछः सर्वोच्च
सर्वोच्च अदालतले न्याय सम्पादनका क्रममा हुनसक्ने त्रुटि अदालतले नै सच्याउने बताएको छ। जन्मकैदको सजाय पाएका रञ्जन कोइरालाको सजाय घटाउने र सडकमा पैदल यात्रुलाई ठक्कर दिई ज्यान गएको घटनाका अभियुक्तलाई धरौटीमा छाड्ने आदेश गरेपछि सर्वोच्च अदालतको सार्वजनिक आलोचना भएको थियो।
१५ असारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको सजाय जन्मकैदबाट ८ वर्ष ६ महीनामा घटाउने फैसला गरेको थियो।
त्यस्तै ३१ असारमा न्यायाधीश सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासले बुढानिलकण्ठमा पैदल यात्रीलाई ठक्कर दिँदा ज्यान गएको घटनाका अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख धरौटीमा छाड्ने आदेश गरेको थियो। यी आदेश/फैसलालाई लिएर पछिल्लो साताभर नै सर्वोच्च अदालतको सार्वजनिक आलोचना भएको थियो।
आज विज्ञप्ति निकालेर सर्वोच्च अदालतले ‘न्याय सम्पादनको क्रममा हुनसक्ने त्रुटि सच्चाउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरूप अदालतबाटै हुने’ भनेको छ।
अदालतमा विचाराधीन रहेका मुद्दाबारे समाचार प्रवाह वा टीकाटिप्पणी नगर्न समेत सर्वोच्च अदालतले आग्रह गरेको छ।
‘सर्वोच्च अदालतबाट भएका काम कारबाहीबारे केही दिनदेखि प्रवाह भइरहेका समाचार, टीकाटिप्पणी र गतिविधिप्रति ध्यानाकर्षण भएको’ भन्दै सर्वोच्चले ‘न्यायपालिकाका काम कारवाहीबारे भ्रम सिर्जना हुनेगरी समाचारको प्रवाह वा टीकाटिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ पनि ध्यान जान जरुरी हुन्छ’ भनेको छ।
लोकतान्त्रिक विधि र पद्धतिमा राज्यका हरेक पेशा वा व्यवसायका न्यूनतम आचारसंहिता हुने भन्दै अदालतले सञ्चारमाध्यमलाई घुमाउरो रुपमा ‘तिनको पालना गर्नू’ भनेको छ।