भेरी–बबई डाइभर्सनमा लगानी योजना तयार, एकैसाथ ५१ हेक्टरमा सिंचाइ र ४६ मेगावाट बिजुली
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय (सिंचाइ/जलविद्युत) आयोजना ५१ हजार हेक्टर क्षेत्रमा सिंचाइ पुग्ने र ४६.८ मेगावाट बिजुली उत्पादन गर्ने सिंचाइ तथा ऊर्जा दुवै दृष्टिले उपयोगी आयोजना हो।
ऊर्जा, जलस्राेत तथा सिंचाइ मन्त्री वर्षमान पुनले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सम्बद्ध सरोकारवालाहरुको बैठक डाकेर उक्त आयोजनाकाे लगानी मोडालिटी तय गरेका हुन्।
मन्त्री पुनले संघ, प्रदेश र स्थानीय तह तथा सरकार मातहतका निकाय, आयोजना प्रभावित र लाभग्राही तथा सर्वसाधारण समेतको लगानी रहने गरी लगानी मोडालिटी तय गरेको बताएका छन्।
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका संयोजक तथा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल भन्छन्, ‘‘यो आयोजना बनाउन संघबाट २६ कर्णाली प्रदेश सरकारबाट २०, आयोजना निर्माण हुने स्थानीय तहबाट ५ समेत सरकारको ५१ प्रतिशत लगानी हुनेछ भने बाँकी ४९ प्रतिशत लगानी सर्वसाधारणबाट शेयर मार्फत हुने छ।’’
यस्तो लगानीमा देशैभरका सर्वसाधारणबाट २९, कर्णाली प्रदेशका सर्वसाधारणबाट १० तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट १० प्रतिशत लगानी हुने गरी ढाँचा तयार भएको भेटवालले बताए।
उक्त आयोजनाबाट बाँके र बर्दियाका ५१ हजार हेक्टर जमीनमा बाह्रै महीना सिंचाइ सुविधा पुर्याउने लक्ष्य मन्त्रालयको छ। भेरी नदीको ४० घनमीटर (प्रति सेकेण्ड) पानी बबईमा खसालेर यो आयोजनाको निर्माण हुनेछ। त्यसबाट ४६.८ मेगावाट विद्युत् उत्पादन हुने सहसचिव भेटवाल बताउँछन्।
आयोजना निर्माणको संशोधित लागत ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । जसमध्ये सिभिल निर्माण कार्यका लागि ४० प्रतिशत, सुरुङ निर्माणका लागि ३५ प्रतिशत, सुरुङ निर्माण परामर्श सेवाका लागि २ प्रतिशत तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानका लागि ११ प्रतिशत रकम लगानी हुनेछ।
आयोजना सम्पन्न भएपछि कृषिबाट वार्षिक रु.३.१० अर्ब तथा विद्युतबाट रु.३.२३ अर्ब गरी रु. ६.३३ अर्ब आम्दानी हुने अनुमान गरिएको छ।