कोरोना महामारीको असर: बन्दाबन्दीपछि बन्द हुने पहिलो पब्लिक कम्पनी बन्यो श्रीराम सुगर मिल्स
दुई दशक अगाडि स्थापना भएको रौतहटको पहिलो चिनी मिल ‘श्रीराम सुगर मिल्स’ बन्द भएको छ। शुरुका केही वर्ष नाफामा चलेको भए पनि पछिल्लो समय वर्षेनि घाटामा जान थालेपछि यो मिलको आर्थिक वर्ष २०७५/७६ सम्मको घाटा रु.२ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ रहेको उल्लेख छ।
आर्थिक अवस्था कमजोर र पुँजीको अभाव देखाउँदै यो सुगर मिलले चार महीनादेखि कर्मचारीलाई पारिश्रमिक दिन नसकेको उल्लेख छ। बन्दाबन्दीपछि पूर्ण रुपमा बन्द रहेको यो कम्पनी गत आर्थिक वर्ष २०७६/७७ मा पनि जम्मा १३ दिन मात्रै क्रसिङका लागि खुलेको कम्पनीले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा ९ साउन २०७७ मा बुझाएको पत्रमा उल्लेख छ।
यो कम्पनीले ११ साउन २०७७ देखि सधैंका लागि बन्दको निर्णय गरेको छ।
कोभिड–१९ महामारीका कारण ११ चैत २०७६ देखि शुरू भएको बन्दाबन्दीपछि यो उद्योग निरन्तर बन्द नै रहेको पनि उल्लेख छ।
यो चिनी मिलले कर्मचारीको तलब भत्ता दिन नसकेको, वर्षेनि करोडौंको नोक्सानी व्यहोर्नुपरेको र उद्योग सञ्चालन गर्ने अनुकूल वातावरण नभएको भन्दै स्थायी रुपमै बन्दको निर्णय गरेको पनि नेप्सेलाई बुझाएको पत्रमा उल्लेख छ।
कर्मचारीको तलब भत्ता भने कम्पनीको चल अचल सम्पत्ति बिक्री गरेर भुक्तानी गर्दै जाने सुगर मिल्सले जानकारी दिएको छ।
श्रीराम सुगर मिल्स नेप्सेमा सूचीकृत एक मात्रै चिनी मिल हो। यो चिनी मिलको १२ साउनमा प्रति शेयर रु.३२२ मा कारोबार भएको छ। यसको ३० लाख ४५ हजार ९९० कित्ता शेयर नेप्सेमा सूचीकृत छ। सोमबार मात्रै यसको शेयर कारोबार रु.१९ ले बढेको छ।