समुदायमा कोरोना संक्रमणको आशंकापछि वीरगञ्जमा 'मास टेस्टिङ' शुरु
समुदाय स्तरमा कोरोनाभाइरसको संक्रमण फैलिएको आशंकापछि वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रमा बृहत् रुपमा पीसीआर परीक्षण गर्ने अभियान शुरु गरेको छ।
महानगरपालिकाले को सबै नगरवासीको नमूना परीक्षण गर्ने गरी 'एक घर एक परीक्षण' अभियान शुरु गरेको हो । हिजो पहिलो दिन ११३ जनाको स्वाबको नमूना संकलन गरिएको महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अरुण महतोले जानकारी दिए।
यस्तै, वीरगञ्ज माईस्थानमा कोरोना पोजेटिभ भएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका २१० जना र राधेमाई टोलका ५० जनाको स्वाबको नमूना लिएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, पर्साले जनाएको छ।
कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि समुदायमा संक्रमण फैलिएको आशंका गर्दै जिल्ला प्रशासन कार्यालय, पर्साले १० साउन (शनिबार) वीरगञ्ज महानगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
प्रशासन कार्यालयले निषेधाज्ञा अवधिमा पनि गर्न 'मास टेस्टिङ'लाई तीव्रता दिने निर्णय गरे अनुसार परीक्षणको दायरा बढाइएको हो।
- एस. उपाध्याय, वीरगञ्ज