जुम्ला कोरोनाभाइरस सङ्क्रमणमुक्त, संक्रमित ६९ जना नै निको भए
जुम्ला कोरोनाभाइरस सङ्क्रमणमुक्त जिल्ला भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोनाभाइरस सङ्क्रमण मुक्त भएको हो।
आइसोलेसनमा रहेका एक जनाको रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमितको सङ्ख्या शून्य भएको प्रतिष्ठानका कोरोना फोकल पर्सन प्रा.डा. धीरज गुरुङले जानकारी दिए। “शुरु शुरुमा संक्रमित कम भए पनि बीचमा बढ्यो। डर घटेकाले संक्रमित बढेका थिए। नियमित परीक्षणले शून्यमा झार्न सफल भएका छौँ।”
तर, परीक्षण दायरा बढाउँदा अझै भेटिन सक्ने भन्दै उनले सबै सजग हुनुपर्ने बताए। प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. निरज थापाले पनि संक्रमणको जोखिम कायम रहेको हुँदा सावधानि अपनाउन आग्रह गरे।
परीक्षण गरिएकामध्ये जुम्लाका ६९ जनालाई कोरोना सङ्क्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए। सबै ६९ जना नै निको भएर घर फर्केका छन्।
प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछि प्रतिष्ठानले नै कोरोना परीक्षण शुरु गरेको बताए। उनले भने, “पीसीआर उपकरण स्थापना गरी कोरोना जाँच र स्वाँव सङ्कलनमा उच्च प्राथमिता दिएका कारण यो सफलता हात परेको हो।”
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कोभिडको त्रासको अवस्थामा स्वास्थ्यकर्मी र सरोकारवाला निकायले गरेको सहयोग अतुलनीय रहेको बताए। उनले हुम्ला, मुगु, दैलेख, कालीकोटसहित आवश्यकता परेको स्थानमा काम गर्न चिकित्सक, स्वास्थ्यकर्मी, परिचालन भएको जानकारी दिए।
सङ्क्रमित शून्य भएपछि कोभिडविरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई आइतबार सम्मान गरिएको थियो। जिल्लामा सबै उपलब्ध नहुने भएकाले साङ्केतिक रुपमा उपलब्ध स्वास्थ्यकर्मीलाई सम्मान गरिएको बताइएको छ।