झापाको मेचीनगरमा समुदायमै कोरोना परीक्षण शुरु, संक्रमण फैलिएको आशंका
समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट समुदायमै परीक्षण (मास टेस्टिङ) शुरु गरिएको छ।
मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ शुरु गरेको हो। पहिलो दिन कोभिड–१९ को परीक्षणका लागि ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन बरालले जानकारी दिएका छन्।
गत शुक्रबार काँकडभिट्टामा कार्यरत २० जना सशस्त्र प्रहरीमा कोभिड–१९ को सङ्कमण पुष्टि भएपछि मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशङ्का छ। आइतबार पहिलो चरणमा सशस्त्र प्रहरीको भन्सार राजस्व गुल्म काँकडभिट्टाका ३२ र स्वास्थ्यकर्मी, यातायात व्यवसायी, होटल व्ययसायी, पत्रकार र सर्वसाधारण गरी ८५ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शशीकला राईले जानकारी दिइन्।
हालसम्म मेचीनगरमा ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भइसकेको छ। ४६ जना निको भएका छन्। २४ जना अझैसम्म विभिन्न कोभिड अस्पतालमा उपचाररत छन्।
नगरपालिकाको सामाजिक विकास समिति संयोजक बरालका अनुसार अब धुलाबारी र चारआली बजार क्षेत्रमा पनि ‘मास टेस्टिङ’ गरिने छ। यसमा लाग्ने सम्पूर्ण खर्च नगरपालिका आफैँले व्यहोरेको जनाएको छ।