राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा फागु पूर्णिमाको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले सबै नेपालीलाई मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेकी छन् ।
होलीका अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेकी छन् ।
होलीको शुभकामना दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले होलीले राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘सप्तरङ्गी जस्तै रङ्गीन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्ने विश्वास लिएको छु उनले भनेका छन् ।
सप्तरङ्गी रङ्ग जस्तै समृद्धिका विभिन्न आधारको तीव्र विकासका माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई सार्थक बनाउन सबै नेपालीलाई प्रेरणा दिने विश्वाससमेत आफूले लिएको उनको भनाइ छ ।
समृद्धिको मार्गमा अघि बढ्न प्रधानमन्त्रीको आग्रह
फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् ।
उनले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्लेख गरे । “देशलाई द्रूतगतिमा आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर गराइँदै गरिएको आजको परिप्रेक्ष्यमा हामी सम्पूर्ण नेपाली अझ बढी एकताबद्ध हुन जरुरी छ,’ प्रधानमन्त्रीओलीको सन्देशमा उल्लेख छ ।
भाषिक, सांस्कृतिक र जातीय विविधतामा एकता सारा विश्वले थाहा पाएको नेपाली विशेषता भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
“फागु पूर्णिमाले विभिन्न मातृभाषाका विविध संस्कृति अङ्गीकार गर्ने सबै जातजातिका सम्पूर्ण नेपालीबीचको सद्भाव र सुसम्बन्ध अझ मजबुत बनाउन प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ’, उनले भनेका छन् ।