बालयौनशोषणमा परेकी रचनाको गीत नर्वेजियन ब्याण्डसँग, भन्छिन् - गीतमार्फत पीडालाई शक्तिमा बदलें
गएको वर्ष अक्टोबरमा काठमाडौंस्थित नर्वेजियन राजदूतावासमा आयोजित कन्सर्टमा संगीतकार इविन्ड रसब्याक हेयर र रचना दाहालबीच भेट भएकै बेला सहकार्य गर्ने सहमति भएको थियो। लगत्तै शुरु भएको कोरोना महामारीले हेयरको काठमाडौंमा छैटौं पटक आयोजना हुन लागेको अर्केष्ट्रा प्रोजेक्ट स्थगन भयो। तर, उनले बन्दाबन्दीकै कारण त्यसलाई रोक्न दिएनन् र, सम्पर्क गरे रचना दाहाललाई।
भर्खरै गायन क्षेत्रमा उदाउँदै गरेकी र विभिन्न कार्यक्रमहरूमा कभर गीत प्रस्तुत गरिरहेकी २२ वर्षीया रचना बन्दाबन्दीको समयमा आफ्नै शब्द र संगीतमा नयाँ गीत पनि बनाइरहेकी थिइन्। उता नर्वेमा स्ट्रिङ ट्रीयो : नो ट्रेबल (भायोलिन समूह) मा काम गर्ने हेयर पनि विश्वव्यापी बन्दाबन्दी शुरु भएपछि नै गएको मार्चदेखि क्वारेन्टिन भिडियो रेकर्ड गराइरहेका थिए।
नर्वेजियन आर्ट काउन्सिलको सहयोगमा ट्रीयोले पनि भायोलिन प्लेयर्स, ओपेरा सिंगर र नर्वेजियन कलाकारहरू राखेर डिजिटल कन्सर्टहरू आयोजना गरिरहेको थियो। हेयरले नेपालमा रहेकी रचनालाई सम्पर्क गरे र इच्छा भए इन्टरनेट मार्फत नेपाली र नर्वेजियन संगीतकार मिलेर संयुक्त कन्सर्ट आयोजना गर्न प्रस्ताव गरे।
"रचनाको गज्जब आवाज छ", हेयरले ओस्लोबाट अन्तर्वार्ताका क्रममा भने। "कोरोना महामारीको बावजूद पनि इन्टरनेट मार्फत यति राम्रो संगीत बनाउने कुरो ठूलो हो। आशा छ, हामी नेपाल आउन नसके पनि नेपाली संगीतकर्मीहरूसँगको सहकार्यबाट यस्ता धेरै काम गर्न सक्नेछौं।"
"म निमन्त्रणा पाएर सरप्राइज भएँ र च्यालेन्जमा भाग लिन पाउने भएकाले खुशी पनि लाग्यो", दाहालले भनिन्। र, उनले कन्सर्टमा आफ्नो नयाँ गीत सपनाको राजा गाउने निधो गरिन्। उनको गीतमा नेपाली महिलाको सशक्तीकरणको विषय छ।
त्यो गीत उनले यस्तो समयमा सिर्जना गरेकी छन् जुन समयमा यहाँको सर्वोच्च अदालतले ८ वर्षअघि श्रीमतीको हत्या गरेको आरोपमा जन्मकैद पाएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाएर जेलमुक्त गरिदिएको छ र एक २२ वर्षीया युवतीमाथि एसिड आक्रमण भएको छ।
रचनाको गीतको शब्दमा उनी ललितपुरको एउटा विद्यालयमा ३ कक्षामा पढ्दा आफ्नै शिक्षकले गरेको यौन दुर्व्यवहार भोग्दाका पीडाहरू छन्। उनले त्यो अपराधलाई केही समय आफ्नो परिवार र साथीसँग लुकाइन् तर अरू पनि त्यसै गरी प्रताडित हुनुपरेको कुरा थाहा पाएपछि सार्वजनिक गरिन्।
"लामो समयसम्म त्यो पीडालाई मनमा राखिरहँदा अन्तिममा मैले संगीत मार्फत त्यसलाई शक्तिमा बदल्ने बाटो भेट्टाएँ", दाहालले भनिन् "अन्तत: म स्वतन्त्रतापूर्वक उड्न पाएँ, र गीत लेख्न पाउनु मेरो अभिव्यक्तिको बाटो बन्यो।"
उता नर्वेमा हेयरको समूहले महामारीका कारण स्वीडेन, रसियालगायत मुलुकका कन्सर्टहरू स्थगित गर्नुपर्यो। तर घरबाटै उनीहरूले 'क्वारेन्टिन भिडियोहरू' सार्वजनिक गरे।
"रचना र मैले गएको वर्ष नेपालमा भेट गर्यौं । म उनको आतिथ्यता देखेर प्रशन्न भएँ", हेयर सम्झिन्छिन्, "त्यसपछि मैले उनलाई यूट्यूवमा सुनेँ। र मलाई उनको सुन्दर आवाजले तान्यो। त्यहाँदेखि हामीलाई कुनै सीमाले छेकेन।"