आगजनी चितवनको बस्तीमा होइन, गोठमा भएको रहेछ: मन्त्री बस्नेत
बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोला स्थित चेपाङ बस्तीमा भएको घटना बाहिर सार्वजनिक भएजस्तो नभएको बताएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उपस्थित भएका मन्त्री बस्नेतले चितवनको कुसुमखोलास्थित चेपाङ बस्तीमा आगो लागाइएको र सेनाद्धारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा समाचारमा आए जस्तो सत्य नभएको बताएका हुन्।
उनले कुसुमखोला आसपास क्षेत्रका २०१ घरमध्ये १९३ घरलाई अर्को ठाउँमा स्थानान्तरण गरिएको र तिनै स्थानान्तरण भएका व्यक्तिहरूले त्यसठाउँमा खेति किसानी गर्ने र मकै हेर्न बनाइएका मचानहरू मात्रै जलाइएको बताए। उनले बाँकी ८ घरमध्ये एक जनाको गोठसमेत परेको बताए। उनले उक्त गोठमा गुन्द्री र सामान्य विस्तारा बाहेक केही नभएको बताए।
स्थानान्तरण भएका व्यक्तिहरू पुनः फर्किएर त्यस ठाउँमा बस्ती बसाउने गरी माचानहरू निर्माण गर्न थालेपछि निकुञ्ज प्रशासन दबाबमा पर्दा घटना घटेको हुनसक्ने मन्त्री बस्नेतको तर्क छ ।
"जे जति सबै रिपोर्टहरू बाहिर आइराखेका छन त्यसैलाई नै अन्तिम सत्य मान्न सकिने अवस्था हामीले हाम्रो अध्ययनबाट हेर्दा देखिदैन। समितिले पनि आफ्नो ढंगले त्यसलाई विस्तृतमा अध्ययन गर्न पनि हामी आर्गह गर्दछौं," उनले भने, "यद्यपी अहिलेसम्म अन्तिम रिपोर्ट प्राप्त भइसको छैन। मन्त्रालयबाट सहसचिवको नेतृत्वमा एउटा अधययन टोलि त्यहाँ पठाएका पनि छौं।"
आफूले प्राप्त गरेको सूचनाअनुसार गोठमा दुईवटा सामग्री भएको त्यो पनि बाहिर निकालेर गोठ जलाइएको भन्दै बस्नेतले उक्त गोठहरू मोटरसाइकलमा गएर दिनभर मकै हेर्न बनाइएका मचानहरू भएको जिकिर गरे।
ती पनि स्थानान्तरण भइसकेको १९३ मध्येका भएको जानकारी पाएको उनले बताए।
मन्त्री बस्नेतले नेपाली सेनाद्धारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा पनि छानविन भइराखेको बताए। उनले कुटपिट किन भयो र कसरी मृत्यु भयो भन्ने विषयमा छानविन भइराखेको बताए।
अरू सांसदको विरोध
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देव गुरुङले कुसुमखोला घटना मानवअधिकार विरुद्धमा भएको बताए। उनले निकुन्जको संरक्षण गर्ने जिम्मेवारी निकुन्ज प्रशासनको भएपनि कारबाही गर्ने तरिका उचित नभएको बताए। उनले घटनाप्रति छानविन गरी दोषिलाई कारबाही गर्नुपर्ने बताए।
नेपाली कांग्रेसका सांसद वालकृष्ण खाँडले उक्त घटनालाई राज्यबाट नागरिकमाथि प्रहार भएको घटनाको रुपमा लिनुपर्ने बताए। आफ्ना नागरिकको सुरक्षा राज्यले गर्नुपर्ने ठाउँमा आफैले घटना घटाउनु दुखद भएको उनको तर्क छ।
सांसद मातृका यादवले सेनाको बारेमा बोल्नै नहुने र प्रहरीको संरक्षण गृह मन्त्रीले गर्नै पर्ने प्रवृतिले राज्यबाटै घटनाहरु घटने गरेको बताए। उनले बन अतिक्रमण रोक्ने नाउँमा घटाइएको घटना पनि यसकै प्रतिफल भएको तर्क गरे।
सांसदहरूले निकुञ्ज संरक्षण गर्ने नाउँमा मानिसमाथि नै आक्रमण गर्ने प्रवृति रोक्नु पर्ने बताएका छन्। बनलाई अतिक्रमणबाट बचाउनु पर्नेमा कुनै विवाद नरहेको तर बनको संरक्षणको नाउँमा मानविय क्षति हुनेगरी घटना घटाउन नहुनेमा सांसदहरूले जोड दिए।
उनीहरूले चितवनको घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारबाही गर्न माग समेत गरेका छन्।